१९ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

स्याउ बोटमै कुहिन थालेपछि मुस्ताङका किसान मर्कामा

अविरल वर्षा, बाढी, पहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान सङ्कटमा परेका छन्। दसैंको मुख्य सिजनमा एक सातादेखि सडक ठप्प भएपछि बोटमै पाकेका स्याउ झर्न र कुहिन थालेका छन्।

मुस्ताङका पाँचवटै स्थानीय तहमा हाल स्याउ टिप्ने र ढुवानी गर्ने मुख्य मौसम भए पनि उत्पादित स्याउमध्ये ८० प्रतिशतभन्दा बढी स्याउ अझै बजार पठाउन बाँकी छ।

ढुवानी ठप्प भएपछि पाँचवटै स्थानीय तहका तीन दर्जन किसान तथा व्यापारीहरू सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी अजिता शर्मासमक्ष स्याउ बोटमै सड्न थालेको भन्दै तत्काल सडक सञ्चालनको वातावरण बनाउन माग गरेका छन्।

थासाङ गाउँपालिका-१ टुकुचेस्थित आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले दसैँको मुख्य व्यापारिक समयमै सडक बन्द हुँदा किसानको वर्षभरिको लगानी र मेहनत खेर जान लागेको बताए।

‘स्याउ टिपौं राख्ने ठाउँ छैन, नटिपौं बजार लैजाने बाटो छैन,’ तुलाचनले भने, ‘यस्तो अवस्थामा स्याउ कसरी जोगाउने भन्ने चिन्ता छ। सडक चाँडो नखुले हामी बर्बाद हुन्छौं।’

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ तिरीका किसान कान्छा गुरुङका अनुसार तीजअघि थोरै परिमाणमा मात्र स्याउ बजार पठाइएको थियो। अहिले अधिकांश स्याउ बगैंचामै छ। सडक ढिलो खुल्दा एकैपटक धेरै स्याउ बजार पुगेर भाउ घट्ने थप जोखिम रहेको उनले बताए।

घरपझोङ गाउँपालिका-५ ढुम्बाका किसान योन्तेन गुरुङले सडक अवरोध र विद्युत् अनियमितताका कारण टिपेर राखिएका पाँच ट्रक स्याउसमेत ढुवानी हुन नसकी कुहिने अवस्थामा पुगेको गुनासो गरे। सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन र कृषि दुवै क्षेत्र धराशायी बनेको उल्लेख गर्दै उनले राज्यका सम्पूर्ण संयन्त्र लगाएर भए पनि सडक खुलाउन माग गरे।

वारागुङ मुक्तिक्षेत्र-४ तिरीका अर्का किसान नर्वु गुरुङले सडक नखुल्दा परम्परागत जातका स्याउ बोटबाटै भुइँमा झरेर नष्ट भइरहेको तस्बिर प्रमुख जिल्ला अधिकारी शर्मालाई देखाउँदै किसानको मर्का बुझिदिन आग्रह गरे।

किसानको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी शर्माले प्राकृतिक विपत्तिका कारण सडकमा ठूलो क्षति पुगेको बताउँदै यातायात सुचारु गर्न निरन्तर समन्वय भइरहेको बताइन्। उनले आवश्यक यन्त्र, उपकरण र जनशक्ति परिचालन गरिएकाले छिट्टै सडक सञ्चालनमा आउने आश्वासन दिइन्।

यता, बेनी-जोमसोम-कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दी खण्डमा अत्यधिक क्षति पुगेकाले मर्मतमा समय लागेको जानकारी दिए।

उनका अनुसार मालढुङ्गादेखि कोरलासम्मका अधिकांश स्थानमा बाटो बने पनि म्याग्दीको सिरुबारी, बैसरी, पनौटो तथा पोखरेबगर क्षेत्रमा पुलका पहुँचमार्ग मर्मतको काम अझै बाँकी छ।

म्याग्दी खण्डको १३ किलोमिटर क्षेत्रमा तीव्र गतिमा काम भइरहेको भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै कम्तीमा एक साता लाग्ने आयोजना प्रमुख शर्माको भनाइ छ।

प्रकाशित: १९ आश्विन २०८३ २१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App