२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

रिटर्नी युवालाई उद्यम प्रवर्द्धनका लागि नगरपालिकाको उपकरण सहयोग

त्रियुगा नगरपालिकाले रिटर्नी (विदेशबाट फर्केका) युवा उद्यमी, व्यवसायीलाई यन्त्र उपकरण वितरण गरेको छ। वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा काम गरेर फर्केका युवा उद्यमी व्यवसायीलाई व्यवसाय प्रवर्द्धन गर्न सहयोग गर्न यन्त्र उपकरण उपलब्ध गराइएको हो।  

सोमबार बिहान नगर उपप्रमुख तथा कार्यवाहक मेयर महेश्वरी राईले विभिन्न वडाका १४ जना उद्यमी व्यवसायीलाई यन्त्र उपकरण हस्तान्तरण गरिन्। नगर परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर राई, ३ नं. वडाध्यक्ष तिलक कटुवाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काले रिटर्नीहरुलाई यन्त्र उपकरण वितरण गरे।  

यन्त्र उपकरण पाउनेमा त्रियुगा २, ३, ४, ११, १२ र १५ नं. वडाका युवा व्यवसायी छन्। जसमा २ नं. वडाका प्रमोद पोखरेलसहित ५ जना लाभान्वित भएका छन् भने ४ नं. वडाका भरत ढुंगानासहित ४ जना र ३ नं. वडाका रमेश विकसहित २ जना छन्। उपकरण पाउनेहरूमा ११ नं. वडाका संगम नेपाल, १२ नं. वडाका जनक दाहाल र १५ नं. वडाका रुद्र राई छन्।  

उनीहरूलाई २ इन्ज मोटर २ थान, २ बण्डल जस्तापाता, ग्राइन्डर मेसिन २ थान, प्याप कटर ३ थान, काठ चिर्ने मेसिन १ थान, हिल्टी मेसिन २ थान वितरण गरिएको छ। त्यस्तै हाते ट्र्याक्टर १ थान, ड्रिल मेसिन २ थान, डिप फ्रिज १ थान र प्लास्टिक टनेल ५ थान वितरण गरिएको छ।  

नगर प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा संयोजक पम्फा घले (निशा) का अनुसार वैदेशिक रोजगारीबाट फर्केका रिटर्नीका लागि सञ्चालित ‘पुन: एकीकरण कार्यक्रम’ अन्तरगत आर्थिक वर्ष ०८१/८२ मा विनियोजित बजेटबाट यन्त्र उपकरण खरिद गरेर वितरण गरिएको हो। उनको भनाइअनुसार विदेशबाट फर्केर आफ्नो गाउँ ठाउँमा विभिन्न पेसा व्यवसाय गर्दै आएकालाई उपकरण दिइएको हो।  

विदेशबाट फर्केर आफ्नै गाउँ ठाउँमा उद्यम व्यवसाय गर्न चाहने युवाहरूलाई नगरपालिकाले बेलाबेला विभिन्न खालका प्राविधिक तालिम दिँदै आएको छ। तालिम प्राप्त गरेर विभिन्न उद्यम व्यवसाय गर्दै आएकाहरूलाई स्थलगत अनुगमन गरेर छनोटमा परेका उत्कृष्ट १४ उद्यमीलाई यन्त्र उपकरण दिइएको घलेले बताइन्।  

रिटर्नीहरुलाई यन्त्र उपकरण वितरण गर्दै कार्यवाहक मेयर राईलगायत। तस्विर: महेश्वर  

प्रकाशित: २० श्रावण २०८२ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App