३० आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत्लगायत चाडपर्वका अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसदहरूले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक रूपमा सबल बनाउन विद्यमान कानुन समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले तीन तहका सरकारबीच समन्वयको अभाव, फरक-फरक नीति तथा कानुन, विकास निर्माणका जटिल प्रक्रिया र नियमनमा देखिएका कमजोरीले सरकारी कामकारबाही प्रभावित भइरहेको बताए। उनले नवीन सोच र प्रभावकारी कार्यान्वयनमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई सहज बनाउनुपर्नेमा जोड दिए।

सांसद मञ्जु भुसालले देशमा तीव्र पूर्वाधार विकास र सुशासन कायम गर्न सरकार तथा संसद् प्रतिबद्ध रहेको बताए। उनले सुकुमवासी समस्या समाधानलगायत विषयमा पनि सरकारले काम अघि बढाएको जानकारी दिए। विद्यमान कानुनलाई समयानुकूल सुधार गर्दै जनअपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

सांसद अमृता विकले यातायात क्षेत्रसहित समग्र व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि आफूहरू दृढतापूर्वक साथ दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले बताए।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सञ्चालन खर्चमा बढोत्तरी, सवारीसाधनको सङ्ख्या वृद्धि र सरकारी नीतिका कारण यातायात व्यवसायी समस्यामा परेकाले यसतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताए। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि पर्याप्त चार्जिङ स्टेसन, पार्टपुर्जाको उपलब्धता, मर्मतसम्भार तथा सञ्चालन दूरीसँग सम्बन्धित चुनौती कायमै रहेको उनको भनाइ छ।

अध्यक्ष खरेलले यातायात क्षेत्रका समस्या समाधानका लागि कानुनमा सुधार, वैज्ञानिक आधारमा भाडादर निर्धारण, प्रभावकारी अनुगमन, बसपार्क तथा पार्किङ व्यवस्थापन र यात्रु एवं व्यवसायीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए। यी विषयमा आवश्यक पहल गर्न उनले सांसदहरूमार्फत सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा व्यवसायीहरूले यातायात क्षेत्रका समस्या, व्यवसायीका माग तथा समाधानका सम्भावित उपायबारे जानकारी गराएका थिए। यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र प्रभावकारी यातायात व्यवस्थापनमा सरकार, व्यवसायी, चालक, सहचालक तथा यात्रु सबै जिम्मेवार हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन्। यातायात क्षेत्रका समस्या समाधानका लागि सांसदहरूले प्रतिबद्धता जनाए पनि कानुनी सुधार, भाडादर निर्धारण र पूर्वाधार व्यवस्थापनका विषयमा ठोस निर्णय तथा कार्यान्वयन हुन बाँकी रहेको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित: ३० आश्विन २०८३ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App