मनाङको ङिस्याङ गाउँपालिका–४ हुम्डेमा रहेको सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालय उद्घाटन भएको छ। “सि.स. २ उच्च भु–भाग खोज तथा उद्धार तालिम” पनि सोही अवसरमा सम्पन्न भएको छ।
शिक्षालय उद्घाटन गर्दै गृहसचिव राजकुमार श्रेष्ठले विपद् उद्धारमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउँदै उच्च हिमाली क्षेत्रमा गरिने उद्धार कार्यले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए। सीमित स्रोत–साधनका बाबजुद सशस्त्र प्रहरीले प्रभावकारी रूपमा काम गरिरहेको उल्लेख गर्दै गृह मन्त्रालय आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हिमाली क्षेत्रमा आकस्मिक घटना सामना गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालय स्थापना गरिएको जानकारी दिए ।
तालिमअन्तर्गत ४ प्रशिक्षक र १८ प्रशिक्षार्थीले ६,०३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका थिए ।
हालसम्म शिक्षालयबाट ७५ जनाले आधारभूत, ५५ जनाले एडभान्स तथा १२० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरिसकेका छन् । तालिम प्राप्त सशस्त्र प्रहरीले हिमाली जिल्लाहरूमा हिमपातमा फसेका नागरिक तथा पर्यटकहरूको उद्धार, सडक सञ्चालन र बेपत्ता व्यक्तिको खोजीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रकाशित: ३१ वैशाख २०८३ २१:०३ बिहीबार





