६ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

कर्रा खोलाले मोटरसाइकल बगायो, चालकले पौडिएर ज्यान जोगाए

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित कर्रा खोलामा आएको बाढीले मोटरसाइकल बगाएको छ। मोटरसाइकल चालक भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार राति करिब ११ बजे सिवम् सिमेन्ट फ्याक्ट्री जाने कर्रा खोलामा ह्युमपाइप राखेर बनाइएको कल्भर्टबाट बाढी आएको खोलाले हेटौंडाबाट बकैया जाँदै गरेको ना.५१ प ५८४९ नम्बरको २२० सीसीको कालो पल्सर मोटरसाइकल बगाएको हो।

मोटरसाइकल बकैया गाउँपालिका–७ हात्तीखोला बस्ने करिब २० वर्षीय मनिष कार्कीले चलाएका थिए। मोटरसाइकल बाढीले बगाए पनि कार्की पौडिएर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। घटनामा मानवीय क्षति भने भएको छैन।

कार्कीले शनिबार बिहान करिब ८ बजे घटनाबारे हटिया प्रहरी चौकीमा जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि हटिया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

बाढीले बगाएर बेपत्ता भएको मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: ६ भाद्र २०८३ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App