भक्तपुरको सूर्यविनायकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा शुक्रबार साँझ छोराको कुटपिटबाट ४० वर्षीया आमा मेघिया चौधरीको मृत्यु भएको हो।
उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी मेघियालाई आफ्नै २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए। शुक्रबार साँझ करिब १९:४५ बजे भएको उक्त कुटपिटबाट मेघिया गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते भएकी चौधरीलाई सुरुमा सूर्यविनायक नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्याइएकी उनलाई राति २३:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न मृतकका छोरा किरणलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले अभियुक्तलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १३ असार २०८३ १५:४० शनिबार





