१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

अदालतको ‘फेक’ पेज बनाएर जागिरको नाममा ठगी गर्ने आमा-छोरी पक्राउ

अनलाइनमार्फत विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले आमा छोरीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर जागिर लगाइदिने बहानामा रकम असुल्ने तथा किनमेल गरेर नक्कली चेक दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सिरहाको लहान स्थायी घर भई हाल विराटनगर महानगरपालिका वडा नं-५ मा डेरा गरी बस्ने ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाई विभिन्न पदमा भर्ना खुलेको भन्दै भ्रामक विज्ञापन गर्थे। जागिरका लागि आवेदन दिने व्यक्तिहरुबाट दर्ता शुल्कबापत ई-सेवामार्फत रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी, उनीहरुले किनमेल गर्ने बहानामा पसलहरुमा गई आधा रकम नगद दिने र बाँकी रकमका लागि पुनम देवी साहको नाममा रहेको सटही नहुने चेक दिएर ठगी गर्ने गरेको पाइएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। ठगीमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिए।

प्रकाशित: १७ कार्तिक २०८२ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App