५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

वीरगञ्जमा सुत्केरी आमा र शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको परिवारको आरोप

वीरगञ्जमा अस्पतालको लापरबाहीले आमा र शिशुको ज्यान गएको आरोप लागेको छ।

बुधबार बिहान वीरगञ्जस्थित साउथ सिटि हिमालयन हस्पिटलमा सुत्केरी गराउन गएकी रौतहटको दुर्गाभगवती गाउँपालिका २ की ३० वर्षीया रुबि खातानु र उनको पेटमा रहेको बच्चाको चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लागेको हो।

दुर्गाभगवती गाउँपालिका २ का मुस्ताक आलमले आफ्नी गर्भवती श्रीमती रुबिलाई सुत्केरी गराउन बुधबार बिहान ४ बजे साउथ सिटि हिमालयन हस्पिटल वीरगञ्जमा लगेका थिए।

अस्पतालको गाइनो विभागका प्रमुख डाक्टर प्रीति यादवसहित चिकित्सकले अस्पतालमा भर्ना गरी नरमल अवस्थामा रहेकी रुबिको अप्रेसन गरेर अथवा नरमल डेलिभरी गराउँछु भनेको रुबिका श्रीमान् आलमले बताए।

प्रशव पीडाले छटपटाइरहेकी रुबिलाई अस्पताल प्रशासनले दिउँसोसम्म कुनै हेरचाह नगरी उपचारमा लापरबाही गरेका कारण रुबिको ज्यान गएको उनले आरोप लगाए।

चिकित्सकको लापरबाहीले आमा र बच्चा दुवैको ज्यान गएपछि मृतक परिवारले अस्पताल मै शव राखेर दोषीमाथि कारबाहीको माग गरेका छन्। मृतक महिलाका श्रीमानका अनुसार रुबिको कोखबाट पहिले दुई वटा बच्चा जन्मेको छ। जेठी छोरी छ वर्ष र कान्छो छोरा साढे चार वर्षका छन्। दुवै बच्चाको नरमल नै जन्म भएको छ। तेश्रो सन्तानका बेला अस्पतालमा कार्यरत चिकित्सकको लापरबाहीले श्रीमती र बच्चा दुवैको ज्यान गएकाले न्याय नपाउन्जेल शव नबुझ्ने उनको भनाइ छ।

बुधबार बिहान उपचारका लागि लगेका बुहारी र बच्चा दुवैको दिउँसो ४ बजे ज्यान गएको सासू सगिरा खातुनले बताइन्। 'मेरो बुहारी र बच्चा मार्ने चिकित्सकलाई जबसम्म कारबाही हुँदैन तबसम्म शव बुझ्दैनौँ,' उनले भनिन्।

अस्पतालको गाइनो विभाग प्रमुख डाक्टर प्रीति यादवले बिरामीको पहिले दुइटा बच्चा नर्मल भएको कारण अहिले पनि नर्मल अवस्थामै डेलिभरी गराउने प्रयास गरेको बताइन्। कुनै लापरबाही नगरेको र पहिला नर्मल डेलिभरी हुने कुनै महिलाको आन्तरिक रोगका कारण पनि यस्तो बेला ज्यान जाने जोखिम रहेको डाक्टर प्रीतिको तर्क छ।

अस्पताल प्रशासनले दुवैलाई बचाउन धेरै प्रयास गरेको तर सम्भव नभएको उनले बताइन्।

प्रकाशित: २३ आश्विन २०८२ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App