२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० बढी पशुबस्तु मरे

एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशुबस्तु मरेका छन्। गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुबस्तु मरेका हुन्।

अचानक पशुबस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशुबस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी दिए। यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म उहाँको मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशुबस्तु मरेपछि ठूलो क्षति पुगेको छ।

अधिकांश पशुबस्तु जङ्गलतिर खर्क रहेकाले अन्य पशुबस्तबारे यकिन विवरण आउन बाँकी छ। खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन्। अज्ञात रोगको महामारीका कारण पशुबस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुबस्तुहरू अझै बिरामी परेका स्थानीयले जनाएका छन्। गाउँपालिकाको पशु शाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे।

यहाँ हिउँदका लागि पशुबस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुबस्तु खर्कमा लिने प्रचलन छ।

प्रकाशित: १५ श्रावण २०८२ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App