३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

गुल्मीका २२ हजार बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा

फाइल तस्बिर

वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ। गुल्मी पनि पहिरोको उच्च जोखिममा छ। गत वर्ष मालिका गाउँपालिका–६ अर्जैमा एक परिवारका पाँच र मुसिकोटमा एक परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो।  

त्यस्तै, विसं २०७६ मा पहिरोबाट सत्यवतीमा १३ जनाको मृत्यु भयो र सयौं नागरिक विस्थापित भए। उनीहरूको पुनर्स्थापना अझै सकिएको छैन। २०६४ सालमा मुसिकोटमा छ जनाको पहिरोमा मृत्यु भयो। यो वर्ष पनि यहाँका नागरिक बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार, यो वर्ष २२ हजार ४०० नागरिक बाढीपहिरोको जोखिममा छन्। सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका १० स्थानमा बाढी र १६ स्थानमा पहिरो गरी २६ स्थानका नागरिक जोखिममा छन्। मुसिकोटको समुद्र, कालीरहलगायतका स्थान बडिगाढ नदीको बाढीको जोखिममा छन्।  

सिम्ले, तोलादी, दजाकोटलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। रेसङ्गा नगरपालिका–३, ६, १० र १४, सत्यवतीको ठूलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा, अश्लेवा, मदानेको अग्लुङ, निपाने, रघवाफेदी, पैयापाटा, बाँझकटेरी, म्यालपोखरी, पुर्कोटदह, धुर्कोटको नयाँगाउँ, गोपे, रातामाटा, अजिमिरकोटलगायतका स्थान पहिरोको उच्च जोखिममा छन्।  

त्यस्तै, छत्रकोटको कोटाग्दी, टुनिखर्क, चुरचुरे, बुटिल, मथुरे, हर्दिनेटा, रुरुक्षेत्रको रिमुवा, रिडी बजार, कालीगण्डकीको पूर्तिघाट, इस्माको अगारे, कँडेनी, हस्तिचौरलगायतका स्थान पहिरोको उच्च जोखिममा छन्।  

विपद्को तयारीका लागि जिल्लामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। पहिरो गएपछि प्रभावित नागरिकलाई नजिकको विद्यालय वा खाली चौरमा सार्ने तयारी गरिएको गैरेले बताए। रासस

प्रकाशित: १४ श्रावण २०८२ १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App