१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

'मोन्था'को असर नेपालमा, २४ घण्टा वर्षा हुने

बंगालको खाडीमा विकसित भएको 'मोन्था' चक्रवातको असर नेपालमा पनि देखा परेको छ। मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानदेखि सुरु भएको चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ।

वरिष्ठ मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको असर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ। 'मोन्था' चक्रवातका कारण कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना रहेको उनको भनाइ छ। यस चक्रवातसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि परेको महर्जनले बताइन्।

बिहीबार बिहान सुरु भएको वर्षा शुक्रबार बिहानसम्म जारी रहने र शनिबारबाट मात्रै मौसम सफा हुने अर्का मौसमविद् उज्जवल उपाध्यायले बताए। बिहीबार बिहान काठमाडौं उपत्यका लगायतका स्थानमा भएको वर्षा पश्चिमी वायुको गतिविधिले गराएको र बिहीबार अपरान्हदेखि 'मोन्था' आँधीको प्रभाव पूर्ण रूपमा सक्रिय हुने उनको भनाइ छ।

मौसम विभागले चक्रवातको जोखिमलाई ध्यानमा राख्दै बिहीबारदेखि अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८२ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App