९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

देशभर मनसुन सक्रिय, तीन दिनसम्म वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय रहेकाले आगामी तीन दिनसम्म अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि निरन्तर रहने देखिएको हो। 

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

त्यसैगरी शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने विभागले जनाएको छ। 

आइतबार वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ। देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । रातिको समयमा विशेषगरी कोशी प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८३ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App