सिरहाको मिर्चैयामा एक परिवारमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले राजनीतिक दबाबमा छाडेको पीडित पक्षले आरोप लगाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले आइतबारको कुटपिट घटनामा पक्राउ परेका पूर्व वडाध्यक्षसहित तीन जनालाई छाडेपछि विवाद उत्पन्न भएको हो।
पीडित परिवारले घटनामा संलग्न किशोरी यादव, पूर्व वडाध्यक्ष हरी कुशीयौत र जगदीश धुर्झार यादवलाई प्रहरीले प्रभावमा परेर छाडेको दाबी गरेको छ।
प्रहरीले जाहेरी दर्ता गर्नसमेत आनाकानी गरेको उनीहरूको गुनासो छ। ‘जाहेरीमा केही व्यक्तिको नाम हटाउन दबाब दिइयो, नत्र जाहेरी नै लिँदैनौँ भनियो,’ एक पीडितले भने।
यता, इलाका प्रहरी कार्यालय मिर्चैयाले भने प्रारम्भिक अनुसन्धानमा संलग्नता नदेखिएकाले उनीहरूलाई तारेखमा छाडिएको जनाएको छ।
‘अनुसन्धान जारी छ, हालसम्मको अनुसन्धानमा उहाँहरूको संलग्नता देखिएन,’ प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले भने, ‘आवश्यक परेको बेला उपस्थित हुने गरी तारेखमा छाडिएको हो। अनुसन्धानले दोषी देखाए पुनः पक्राउ गरिनेछ।’
उनले पीडित पक्षबाट नभई तेस्रो पक्षले ल्याएको जाहेरीमा संलग्न नभएका व्यक्तिको समेत नाम राखिएकाले तत्काल दर्ता नगरिएको स्वीकार गरे।
के थियो घटना ?
आइतबार साँझ मिर्चैया नगरपालिका–३, छड्की टोलमा १५–२० जनाको समूहले शिवनन्दन यादवको परिवारमाथि घरमै पसेर धारिलो हतियारले आक्रमण गरेको थियो।
आक्रमणबाट ६० वर्षीय शिवनन्दन, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी, ४२ वर्षीय छोरा जमाहिर र ३७ वर्षीया बुहारी रिता यादव घाइते भएका छन्।
टाउकोमा गम्भीर चोट लागेकी रिताको गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ भने अन्यको मिर्चैयामा उपचार जारी छ।
प्रहरीका अनुसार, घटना हुनुअघि दुई पक्षका किशोरहरूबीच विवाद भएको थियो। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये अशोक यादवसहित दुई जना अझै पनि प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ कार्तिक २०८२ १४:४६ बिहीबार





