२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

किम्रुङखोलामा सामान्य पहिरो, छैन जोखिम

मंगलबार साँझ कास्कीको किम्रुङखोला थुनियो भन्ने हल्ला फैलियो। स्थानीयको हवाला दिँदै उच्च बाढी सतर्कता प्रणालीले एक सूचना जारी गर्दै अन्नपूर्ण गाउँपालिका वडा नम्बर–११ स्थित किम्रुङखोला थुनिएको हल्ला फैलिएको हो।

उच्च बाढी सतर्कता प्रणालीले नै किम्रुङखोला थुनिएको भन्दै सो खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रहसहितको ‘हाई अलर्ट’ सूचना जारी गर्यो।

त्यसलाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वतदेखि अन्नपूर्ण गाउँपालिकालगायतले सेयर गरे। त्यसपछि मासमा फैलिएको त्यो सूचना सामाजिक सञ्जालमा भाइरल बन्यो।

स्थानीयले खोलामा पानीको सतह घटेको देखेपछि दिएको जानकारीका आधारमा उच्च सतर्कताका लागि आग्रह गरिएको थियो। खोलामा ठुलै पहिरो गएको पूर्वानुमानका आधारमा ‘हाई अलर्ट’ जारी गरिएको हो।

किम्रुङखोला नदी तटीय क्षेत्रहरू कास्कीको वीरेठाँटी, नयाँ पुल तथा पर्वतको पातीचौर र डिमुवा क्षेत्रमा ‘माइकिङ’ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको थियो भने स्थानीयले रातमा घर छाडेर सुरक्षित स्थानमा निस्किएका थिए।

तर उच्च बाढी पूर्व सूचना प्रणालीले भनेजस्तो किम्रुङखोलाको पहिरो ठूलो नभएको पाइएको छ। कास्की प्रशासन, प्रहरी, नेपाल आर्मी, स्थानीय प्रहरी चौकीका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधिलगायतको टोलीको स्थलगत तथा बुधबार बिहान नेपाल आर्मीको हेलिकोप्टरबाट गरिएको अवलोकनमा किम्रुङखोलामा सामान्य मात्रै पहिरो गएको पुष्टि भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।

‘झिनुभन्दा केही माथि पहिरो गएर खोला थुनिएको रहेछ’,उनले भने,‘अहिले थुनिएको खोला बग्न थालेको छ र किम्रुङखोला पुरानै बहावमा फर्किएको छ।’

नेपाली सेनाको हेलिकोप्टरबाट हेर्दा झिनुभन्दा माथि पहिरो गएको देखिए पनि अहिले थुनिएको पहिरो बगेर खोला पुरानै बहावमा फर्किएको देखिएको पोखरास्थित पश्चिम पृतनापती कार्यालयका पृतनापती भोलानाथ थापाले जानकारी दिएको गाउँपालिका अध्यक्ष केसीले बताए।

पृतनापती थापालाई उद्धृत गर्दै अध्यक्ष केसीले भने,‘अहिले पनि सामान्य पहिरो जाने क्रम जारी छ।’ तर जोखिम भने नरहेको उनले बताए।

अन्नपूर्ण गाउँपालिका–११ का कार्यवाहक वडाध्यक्ष जगन गुरुङले मध्यरातबाटै खोला सामान्य अवस्थामा फर्किएको बताए। ‘आवश्यकताभन्दा बढी हल्ला भयो’,उनले भने,‘खासमा खोलामा पानीको सतह घटेको सही हो। तर त्यस्तो ठूलो जोखिम हुने गरी पहिरो गएको होइन।’

भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षती पुर्‍याएकाले त्रसित जनता किम्रुङखोलामा पानीको सतह सामान्य घट्दा पनि डराउँदा त्रास फैलिएको उनको भनाई छ।

‘सायद भोटेकोशीले पुर्‍याएको क्षतीले जनता त्रसित थिए’,उनले भने,‘त्यसैको परिणाम स्वरूप किम्रुङखोलामा पानीको बहाव घट्ने बित्तिकै कास्कीदेखि पर्वतसम्मका मानिसमा हल्लै हल्लामा त्रास फैलियो।’

गाउँपालिका अध्यक्ष केसी भने सतर्कता अपनाउँदा त्रास फैलिएको मान्न नहुने बताउँछन्। यस अघिल्ला वर्षहरूमा पनि किम्रुङखोलामा पहिरो जाने गरेकाले जोखिमलाई मध्यनजर गरेर सतर्कताका लागि उच्च बाढी पूर्व सतर्कता प्रणालीदेखि प्रहरी, प्रशासन र गाउँपालिकाले सूचना जारी गरेको उनले बताए।

‘अहिले पनि पहिरो खसिरहेको र खोलामा धमिलो पानी बगिरहेको सूचना छ’,उनले भने,‘जोखिम न्यूनीकरणका लागि गरिएको प्रयास भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले खेम्रुङबाट ५ घण्टा माथि पर्ने कुम्रुङडाँडामा पहिरो गएर खोला थुनिएको पाइएको बताए। यद्यपी जोखिम नरहेको भन्दै उनले भने,‘साँझबाट थुनिएको खोला त्यसको दुई घण्टापछिदेखि सामान्य खुल्दै राती २ बजे ह्वात्तै खुलेर बिहान ४ बजेदेखि सामान्य अवस्थामा फर्किएको पाइयो।’

उनले पनि हालसालै मात्र आएको भोटेकोशी बाढीका कारण तर्सिएकाले किम्रुङखोला थुनिदा त्रास फैलिएको बताए। ‘फेरी अर्को भोटेकोशी घटना घट्छ कि भन्ने त्रास त हुँदो रहेछ’,उनले भने। तर सतर्कता अपनाउने कुरालाई अन्यथा लिन नहुने उनले तर्क गरे।

प्रकाशित: २४ भाद्र २०८३ १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App