उखुबारीमा एक नाबालिका बेवारिसे अवस्थामा फेला परेकी छन् । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको उखुबारीमा मंगलबार साँझमा बालिका बेवारिसे फेला परेकी हुन् ।
स्थानीयले मंगलबार साँझ साढे ६ बजेतिर शम्भुप्रसाद यादवको उखुबारीमा करिब ६–७ महिनाकी नाबालिका बेवारिसे अवस्थामा देखेपछि खबर गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार साँझमा सुनसान भएको अवस्था बच्चा रोइरहेको सुनेपछि स्थानीयहरु गएर हेर्दा उखुबारीमा नाबालिका फेला परेको थियो ।
उखुबारीमा नाबालिका भेटिएको खबर पाउनासाथ तत्कालै प्रहरी पुग्दा नाबालिका रोइरहेको थिइन् । नाबालिकालाई तत्काल संरक्षणका लागि स्थानीय सिजवना खातुनको जिम्मामा लगाएका प्रहरीले जनाएको छ ।
नाबालिका रोहिरहेको र साँझ पनि परेको हुँदा स्थानीयलाई बच्चाको तत्काल हेरचाह गर्ने गरी जिम्मा दिएको बताउँदै डिएसपी चुँडालले भनिन्, ‘बच्चा स्थानीयलाई जिम्मा दिएर उनको अभिभावक एवं आफन्त खोज्दा अहिलेसम्म फेला परेको छैनन् । बच्चा कसको र कसले उखुबारीमा छाडेको हो भनेर यकिन भइसकेको छैन । कोही पनि बच्चा हराएको भनेर सम्पर्कमा आएका छैनन् । आफन्त वा अभिभावकको खोजी र पहिचानको प्रयास भइरहेको छ ।’
नाबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र तत्काललाई संरक्षणका लागि बुधबार विराटनगरको पूर्वाञ्चल बालसेवा आश्रममा बुझाइएको छ । तत्काललाई संरक्षणका लागि बालसेवा आश्रमको जिम्मा लगाएर थप अनुसन्धान अघि बढाइएको डिएसपी चुँडालले बताइन् ।
प्रकाशित: २९ आश्विन २०८२ १७:५५ बुधबार




