रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सुरक्षाकर्मीले मध्यरातमा घरमा प्रवेश गरी परिवारका सदस्यलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
घटनामा ७० वर्षीया बसकलिया देवी र उनकी १६ वर्षीया नातिनी करिश्मा यादव गम्भीर घाइते भएका छन्।
मंगलबार मध्यराति करिब १२ बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली स्थानीय शिवपुजन यादव र नवलकिशोर यादवलाई पक्राउ गर्न घर पुगेको थियो। सुरक्षाकर्मीले मुख्य ढोका फुटाएर घरभित्र प्रवेश गरी यादव दाजुभाइलाई नियन्त्रणमा लिएर परिवारका सदस्यलाई समेत कुटपिट गरेको आरोप लागेको छ।
शिवपुजनकी आमा बसकलिया देवी, श्रीमती सुगान्धी देवी र १६ वर्षीया छोरी करिश्मामाथि सुरक्षाकर्मीले कुटपिट गरेको परिवारको आरोप छ। सो क्रममा बसकलिया र करिश्माको टाउकोमा चिरपट भाटाले प्रहार गरेर गम्भीर घाइते बनाएको परिवारको आरोप छ।
घाइते दुवैको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बसकलियाको टाउकोमा सातवटा र करिश्माको टाउकोमा छवटा टाका लगाइएको जिल्ला अस्पताल गौरका आकस्मिक कक्षका चिकित्सकले बताए।
घटनापछि बसकलिया देवीले आफूले कुनै कसुर नगरेको भन्दै मध्यरातमा घरको ढोका फुटाएर प्रवेश गरी आफूमाथि आक्रमण गरिएको बताएकी छन्।
“हामीले कुन कसुर गरेका थियौँ? रातिको समयमा ढोका फुटाएर घरमा प्रवेश गरी आक्रमण गर्नु गम्भीर अन्याय हो। हामीले न्याय पाउनुपर्छ,” उनले भनिन्।
इन्स्पेक्टरमाथि आक्रमणको जाहेरीपछि पक्राउ
भारतको घोडासहनबाट तस्करीको सामान बोकेर नेपालतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रणमा लिने क्रममा सोमबार विवाद भएको थियो। मोटरसाइकल नियन्त्रणमा लिएपछि तस्कर समूहसँगै केही स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुढा तथा आक्रमण गरेको बुझिएको छ।
आक्रमणमा सशस्त्र प्रहरी बल, बीओपी सरमुजवामा कार्यरत इन्स्पेक्टर लोकेन्द्र पुलामी मगरको हातको औँला भाँचिनुका साथै अर्का एक सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
इन्स्पेक्टर पुलामीले दिएको जाहेरीका आधारमा घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा सुरक्षाकर्मीको टोलीले यादवद्वय दाजुभाइलाई राति घरबाट नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ।
पक्राउ परेका शिवपुजन र नवलकिशोर उक्त घटनामा संलग्न नरहेको परिवार तथा स्थानीयको दाबी छ। उनीहरूमध्ये एकजना सवारी चालक र अर्का खेती–किसानी गर्ने व्यक्ति रहेको तथा तस्करीमा संलग्न नरहेको परिवारका सदस्यहरूको कथन छ।
‘विशेष परिस्थितिमा पक्राउ गरिएको’ प्रहरीको दाबी
यसैगरी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले सशस्त्र प्रहरीका इन्स्पेक्टर लोकेन्द्र पुलामीमाथि तस्करीको सामान नियन्त्रण गर्ने क्रममा भएको आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको दाबी गरे।
मध्यरातमा घरभित्र प्रवेश गरी पक्राउ गर्दा कानुनी प्रक्रिया र स्थानीय जनप्रतिनिधिको रोहवर आवश्यक पर्ने–नपर्ने विषयमा प्रश्न उठेपछि डीएसपी गौतमले ‘विशेष परिस्थिति भएकाले मानिसलाई पक्राउ गरिएको’ प्रतिक्रिया दिए।
घरभित्र रहेका महिला र नाबालिकामाथि चिरपट प्रहार गरी घाइते बनाइएको आरोपबारे भने आफूलाई जानकारी नभएको डीएसपी गौतमले बताए।
घटनाले सुरक्षाकर्मीले पक्राउ गर्ने क्रममा अपनाएको कानुनी प्रक्रिया, घरभित्र प्रवेशको आधार तथा महिला र नाबालिकामाथि बल प्रयोग गरिएको भए त्यसको औचित्यमाथि गम्भीर प्रश्न उठाएको छ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा आफूहरूलाई न्याय दिलाउन माग गरेको छ। उता, प्रहरीले भने इन्स्पेक्टरमाथि भएको आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा कारबाही गरिएको बताएको छ।
प्रहरीको दाबी र पीडित परिवारको आरोपबीच देखिएको विरोधाभासका कारण घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने स्थानीयले माग गरेका छन्।
प्रकाशित: ३ भाद्र २०८३ १७:२८ बुधबार





