२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

मध्यपूर्व तनाव : नेपालमा चिन्ता, लाखौं नेपालीको सुरक्षाप्रति चासो

इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिले नेपालमा गम्भीर चिन्ता पैदा गरेको छ। खाडी क्षेत्र र इजरायलमा कार्यरत लाखौं नेपाली नागरिकको सुरक्षालाई लिएर सरकार, प्रमुख राजनीतिक दलका नेताहरू र सरोकारवाला निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। 

परराष्ट्र मन्त्रालयले एक ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले ती देशमा रहेका नेपालीलाई स्थानीय निकायले जारी गरेका सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न, अनावश्यक यात्रा नगर्न र घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ।

साथै हालको अवस्था सामान्य नहुँदासम्म इजरायल वा इरान जाने योजना बनाएका नेपालीलाई आफ्नो यात्रा स्थगित गर्न पनि सरकारले अनुरोध गरेको छ। मन्त्रालयले तेल अभिभ र दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहनसमेत सूचित गरेको छ। युद्धको सिधा असर नेपालको हवाई क्षेत्रमा देखिएको छ। हवाई उडानमा लगाइएको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सात प्रमुख गन्तव्यका उडान रद्द गरिएका छन्। 

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार र दमामका लागि हुने शनिबार दिउँसो र रातिका सबै उडान रद्द भए। उडानहरू कहिले खुल्ने भन्नेबारे अर्को निर्णय नभएसम्म यात्रुलाई विमानस्थल आउनुअघि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ। 

मध्यपूर्वको बदलिँदो परिस्थितिलाई लिएर प्रमुख राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमार्फत गहिरो चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मध्यपूर्वको तनावले नेपालीहरूको सुरक्षा संवेदनशील बनेको उल्लेख गरेका छन्। उनले सरकार र दूतावासहरूलाई नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन र तत्काल सहायताका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युएई, इजरायल र इरानलगायत देशमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन्। उनले नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन सरकार र दूतावासहरूलाई अनुरोध गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले इरानमाथि भएको आक्रमणले गम्भीर तनाव सिर्जना गरेको बताउँदै लाखौं नेपालीको सुरक्षा नै अहिलेको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्। उनले कूटनीतिक पहलमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्नसरकारसँग माग गरेका छन्।

रास्वपाका सभापति रवि लामिछानेले पनि सबै पक्षलाई अधिकतम संयम अपनाउन र समस्याको समाधान संवाद एवं कूटनीतिक माध्यमबाट खोज्न अपिल गरेका छन्। उनका अनुसार लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको छ। 

उनले सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App