१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन मेयरको सत्याग्रह

नगरपालिकाबाट बाँसका सामग्रीसहित काठमाडौँ हिँडेका मेयर भट्टराई। तस्विर: महेश्वर

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले खोटाङलाई ‘बाँसको राजधानी’ घोषणा गर्न र बाँस प्रवर्द्धनका लागि आवश्यक नीति बनाउन माग गर्दै काठमाडौंमा भोक हड्ताल गर्ने घोषणा गरेका छन्।

सरकारले आफ्ना मागहरूलाई पटक-पटक बेवास्ता गरेपछि उनले सत्याग्रहको बाटो रोज्दै साउन ११ गतेदेखि माइतीघर मण्डलामा अनशन बस्ने तयारीमा छन्।

यसका लागि उनी आइतबार नै बाँसबाट निर्मित विभिन्न सामग्री, परालको गुन्द्री र भेडाको ऊनबाट बनेको राडीसहित काठमाडौं पुगिसकेका छन्।

मेयर भट्टराईले बाँससम्बन्धी सहज र सरल नीति निर्माणका लागि पटक-पटक पत्राचार गर्दा पनि राज्यले ध्यानाकर्षण नगराएपछि आफू भोक हड्ताल बस्न बाध्य भएको बताए।

मेयर निर्वाचित भएलगत्तै भट्टराईले आफ्नो र उपमेयरको कार्यकक्षमा बाँसबाट निर्मित फर्निचर र कार्यालय सामग्री प्रयोगमा ल्याएर बाँस प्रवर्द्धनको सांकेतिक सुरुवात गरेका थिए। उनको पहलमा नगरपालिकाले नगरसभाबाटै बाँस प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गर्ने प्रस्ताव पारित गरेको थियो।

यसलाई थप राष्ट्रियकरण गर्न गत फागुन १५ देखि १७ गतेसम्म दिक्तेलमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन ०८१’ समेत आयोजना गरिएको थियो। तर, यी सबै प्रयासलाई सरकारले बेवास्ता गरेपछि थप दबाब सिर्जना गर्न भोक हड्तालको निर्णयमा पुगेको नगरपालिकाले जनाएको छ।

नगर उपप्रमुख बिसन राईका अनुसार, नगरपालिकाले बाँस तथा बाँसजन्य कच्चा पदार्थको सदुपयोगमार्फत स्थानीयको आम्दानी बढाउने वातावरण बनाउन सरकारसँग निरन्तर माग गर्दै आएको छ।

‘राष्ट्रिय बाँस सम्मेलन नै गरेर स्थानीयवासीको आर्थिक समृद्धिका लागि बाँसको प्रयोग, औद्योगिकीकरण र व्यवसायीकरण गर्न हामीले नीतिगत व्यवस्थाको माग गरेका हौँ,” उपप्रमुख राईले भने, “तर, यो विषयमा सरकारले पटक्कै चासो नदिएपछि नगरप्रमुखज्यू राज्यको आँखा खोल्न काठमाडौँ जानुभएको हो।”

उपप्रमुख राईका अनुसार, मेयर भट्टराईले साउन ११ गतेदेखि तीन दिनसम्म माइतीघर मण्डलामा दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्ताल गर्नेछन्।

“तीन दिनसम्म पनि माग सुनुवाइ नभए साउन १४ गतेदेखि बिहान ९ बजेदेखि आमरण अनशन बस्ने तयारी गर्नुभएको छ,” उपप्रमुख राईले जानकारी दिए।

तराईदेखि पहाडसम्म जताततै सहजै पाइने र नेपालीको हरेक दिनचर्यासँग जोडिएको बाँसको सदुपयोग गरी आर्थिक आम्दानी लिने वातावरण बनाउन सङ्घीय सरकारको ध्यानाकर्षण गराउनु नै सत्याग्रहको मुख्य उद्देश्य रहेको उनले बताए।

प्रकाशित: ५ श्रावण २०८२ २२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App