गए रातिदेखि परेको निरन्तर वर्षापछि काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापनका लागि १०० जना महानगर प्रहरी खटाएको छ। बस्ती डुबानमा परेमा प्रभावित परिवारलाई नजिकैका सुरक्षित विद्यालयहरूमा सार्ने तयारी समेत गरिएको महानगरले जनाएको छ।
महानगरले कुनै समस्या परे तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ। विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार निरन्तर वर्षाका कारण काठमाडौँसहित देशका धेरै स्थानहरूको अवस्था संवेदनशील बनेको छ।
काठमाडौँको हकमा नगर प्रहरी परिचालन भइसकेको र आवश्यकताअनुसार थप बल तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए। उनले जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरे।
महानगरका जनप्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अनुगमनमा खटिएका छन्। विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको र खोलाको धार घर नजिक करिब पाँच फिट मात्र टाढा पुगेको बताइएको छ।
त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरामा ग्राभेल भरेर नदी कटान रोक्ने कार्य जारी रहेको प्रमुख जोशीले जानकारी दिए।
प्रकाशित: १८ आश्विन २०८२ १४:०२ शनिबार





