तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका-३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको शव आआफ्नो घरसम्म पुर्याउँदा लाग्ने यातायात खर्च मेरिङदेन गाउँपालिकाले बेहोर्ने भएको छ।
मेरिङदेन गाउँपालिकाका ४ सहित ६ जनाको घटनामा परी मृत्यु भएको थियो। पालिका अध्यक्ष युवहाँवीर हाङगाम (डम्बर)ले घटनामा परी निधन भएका सदस्यको चीर शान्तिको कामना तथा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्तिका लागि प्रार्थना समेत गरेका छन्।
पालिका अध्यक्ष हाङगामले उक्त घटनापछि पालिका पूरै शोकमा रहेको बताए। शनिवार भएको दुर्घटनामा परी मृत्यु हुने ६ जनामध्ये ४ जनामा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका विनोद लङवा, मेरिङदेन - ४ लिङ्तेपका गिता हाङगाम, मेरिङदेन - ५ थुकिमाका अभिषेक लिम्बू र मेरिङदेन - ५ थुकिमाकै धनकुमार लिम्बू छन्।
यस्तै मोरङको उर्लाबारी नगरपालिका - ८ माइत घर भई अहिले मिक्वाखोला गाउँपालिका वडा नं ४ विवाह भएकी मनिषा कार्की र सिदिङवा गाउँपालिकाकी २९ वर्षीया युना तामाङ छन्।
घटनामा परी घाइते भएका ६ जनाको उपचार हुँदै छ। मृतक सबैको शव फिदिम अस्पताल पाँचथरमा पाेस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने छ।
प्रकाशित: १९ आश्विन २०८२ १२:५९ आइतबार





