नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन गर्नका लागि पुरुष प्रहरीलाई संयोजक तोकेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको संयोजकत्वमा सात सदस्यीय संयोजन समिति गठन गरेर पुरुष प्रहरीको बहुमत संयोजन समिति बनाएको छ ।
‘लैङ्गिक समानता र न्यायलाई मूल प्रवाहमा ल्याउने’ उद्देश्यसहित भदौको पहिलो साता काठमाडौंमा दुईदिने सम्मेलन आयोजना गर्न लागिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ नाम दिइएको सो कार्यक्रममा देशभरका विभिन्न इकाइमा कार्यरत महिला प्रहरीहरू सहभागी हुने नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए । उनका अनुसार मिति भने तय भैसकेको छैन ।
महिला प्रहरी सम्मेलन सम्पन्न गर्न नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले समितिमा एआईजी अधिकारीका साथै अपराध अनुसन्धान विभागकै प्रहरी नायब महानिरीक्षक (डिआइजी) सन्जिव शर्मा दास, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सानुराम भट्टराई, कार्य विभागमा कार्यरत एसएसपी वसन्त रजौरे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी एसएसपी तारादेवी थापा र सोही निर्देशनालयकी प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्का र अपराध अनुसन्धान विभागका एसपी ऋषिराम कँडेल सदस्य सचिवका रूपमा तोकेका छन् ।
प्रकाशित: १३ श्रावण २०८२ १८:५० मंगलबार





