प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस नववर्षले नेपालीको जीवनमा सुख, शान्ति र प्रगतिको सम्भावना ल्याओस् भन्ने कामना गरेका हुन्। बितेका वर्षका अनुभव र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनमा सुदृढ संकल्प र सकारात्मक सोचका साथ अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन्।
नयाँ वर्षले आशा र ऊर्जा सञ्चार गर्ने अपेक्षा गर्दै कार्कीले राष्ट्र निर्माणमा समर्पित हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।
हेर्नुस् उनको शुभकामना सन्देश
नयाँ वर्ष २०८३ को पावन एवं मंगलमय अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यस नववर्षले सम्पूर्ण नेपाली जनसमुदायको जीवनमा सुख, शान्ति, समृद्धि तथा सतत् प्रगतिको उज्यालो सम्भावना लिएर आओस् भन्ने हार्दिक कामना गर्दछु। बितेका वर्षका अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै, आगामी दिनहरूमा अझ सुदृढ संकल्प, सकारात्मक सोच तथा आपसी सद्भावका साथ अघि बढ्न हामी सबै प्रेरित बनौँ।
यो नयाँ वर्ष प्रत्येक नेपालीको जीवनमा आशा, ऊर्जा र उत्साहको नवीन सञ्चार गर्ने प्रेरणादायी अवसर बनोस्। साथै, राष्ट्रप्रतिको कर्तव्यबोध, जिम्मेवारी र समर्पणको भावनालाई अझ सुदृढ र गहिरो बनाउँदै समुन्नत र समृद्ध राष्ट्र निर्माणतर्फ हामी सबैलाई अग्रसर गराओस् भन्ने अपेक्षा गर्दछु।
प्रकाशित: १ वैशाख २०८३ ०७:२० मंगलबार





