साइक्लिङ प्रतियोगिताका सहभागीहरूलाई खानेपानी पुर्याउन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ आफैंले हाँकेको सरकारी गाडी दुर्घटनामा परेको छ।
शनिबार बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ मा भएको सो दुर्घटनामा अध्यक्ष गुरुङ सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक नेत्र बाहादुर थापाका अनुसार गाउँपालिकाको ग १ झ ३३१ नम्बरको सरकारी बोलेरो जिप बेसीसहर-चामे सडक खण्डको सडकबाट करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो।
दुर्घटनामा घाइते भएका अध्यक्ष गुरुङको बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ। उनको ढाड र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
साइकल दौडसम्बन्धी ‘कोरा २०२६’ को समापन तथा ‘प्रथम टुर दि लमजुङ २०२६’ का सहभागीहरूलाई स्वागत गर्न र खानेपानी पुर्याउन अध्यक्ष गुरुङ गाउँपालिकाको केन्द्र भुलभुलेबाट खुदीतर्फ जाँदै थिए। गाडीमा उनीबाहेक अन्य कोही सवार थिएनन्।
प्रहरी स्रोतमा अनुसार गाडीको अगाडिको सिटमा राखिएको खानेपानीको कार्टुन गुड्ने क्रममा कोल्टिएपछि त्यसलाई गुडिरहेकै गाडीमा सम्हाल्न खोज्दा जिप अनियन्त्रित भएको थियो।
अनियन्त्रित जिप सडकबाट नदी किनारमा खसेको हो। दुर्घटनाका कारण बोलेरो जिपको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र गाडी हाल नदी किनारमै रहेको छ।
प्रकाशित: २ श्रावण २०८३ १३:५१ शनिबार





