नारायणी नदीमा बाढीले खतराको तह नाघेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने नारायणी पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
पुल पुरानो भएको र नदीको तीव्र बहावका कारण अत्यधिक हल्लिएपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ठूला गाडी चलाउन रोक लगाइएको हो।
आइतबार दिउँसो केही समय पुलमा सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा बन्द गरिए पनि अहिले भने मोटरसाइकललाई मात्र आवतजावत गर्न दिइएको छ।
जोखिमको बेवास्ता गर्दै सर्वसाधारण पुलमा उभिने क्रम बढेपछि कडाइ गरिएको छ। सम्भावित दुर्घटना रोक्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर तथा भिडिओ सामग्री खिच्नसमेत रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक पण्डितका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधनलाई गैंडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटतर्फ नै रोकिएको छ। नदीमा पानीको बहाव घटेपछि मात्रै पुलबाट सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
यसैबीच, देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो १:५० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको छ। उक्त केन्द्रमा सात दशमलव तीन मिटरलाई ‘चेतावनीको तह’ र नौ मिटरलाई ‘खतराको तह’ मानिनेमा हाल पानीको सतह खतराको विन्दुभन्दा निकै माथि पुगेको हो। केन्द्रका अनुसार नदीमा बहाव अझै बढ्दो क्रममा छ।
नारायणीमा बहाव उर्लिएसँगै नवलपुरका नदी तटीय बस्तीहरू उच्च जोखिममा परेका छन्। नदीको सतह निरन्तर बढेपछि गैंडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन्।
प्रकाशित: ११ आश्विन २०८३ १६:०५ आइतबार





