११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

मर्स्याङ्दी नदी आंशिक थुनिएर पोखरी बन्यो, बहाव जारी

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको भन्ने खबर सार्वजनिक भइरहँदा प्रहरीले भने नदी पूर्ण रूपमा नथुनिएको र बहाव निरन्तर जारी रहेको बताएको छ।

जिल्ला प्रशासन कार्यालय र अस्पताल पछाडिपट्टिको ‘माडा’ भन्ने स्थानबाट खसेको पहिरो बगेर चामे बजारस्थित पुलमुनि पुगेको थियो। पहिरोले घट्टेखोला नजिक केही अवरोध सिर्जना गरे पनि नदी थुनिएर बहाव नरोकिएको मनाङ प्रहरीले जनाएको छ।

पहिरोका कारण पुलमुनि करिब तीन-चार मिटरजति पानी जमेर पोखरी बनेको भए पनि निकास नरोकिएकाले पानी निरन्तर बगिरहेको छ।

नागरिक न्युजसँगको कुराकानीमा मनाङ प्रहरीले भन्यो, ‘पुलमुनि घट्टेखोला छेउमा पहिरोले गर्दा केही पानी जमेर पोखरी जस्तो देखिएको छ, तर नदी पूर्ण रूपमा थुनिएको छैन। मर्स्याङ्दीको बहाव जारी छ।’

प्रहरीका अनुसार पहिरोका कारण नदीमा पानी जमेको देखिए पनि पानी बग्ने क्रम नरोकिएकाले नदी पूरै थुनिएको अवस्था होइन। यद्यपि, लेदोसहितको बहाव रहेकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता भने कायमै राखिएको छ।

प्रकाशित: ११ आश्विन २०८३ १८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App