५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

मनास्लु आरोहण : मौसमी चुनौतीले अन्योलमा आरोही

आरोहण त्याग्ने मनस्थितिमा आरोही

मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधार शिविरमा आरोहीको भिडभाड छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुका लागि आएको पर्यटन विभागको भनाई छ।

आरोहणमा आएका आरोही र उनीहरूका सहयोगीका कारण अहिले मनास्लु आधार शिविरमा अस्थायी बस्ती नै तयार भएको छ।

पर्यटन विभागका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि मात्र ४१ टिमले स्वीकृति लिएका छन्। ती टिममा ३ सय ६६ जना पुरुष र १ सय २७ जना महिला छन्। सबैगरि यो सिजनमा यो वर्ष ४ सय ९३ जनाले मनास्लु आरोहणका लागि स्वीकृति लिएको विभागको भनाई छ।

यो सिजनमा विभिन्न ११ वटा हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएकोमा सबैभन्दा बढी मनास्लुका लागि छन्। ११ वटा हिमालका लागि ५५ वटा टिमले आरोहण अनुमति लिएका छन्। सबैगरि ५ सय ७९ जनाले अनुमति लिएका छन्।

मनास्लु आरोहणका लागि अहिले आधारशिविर (४८०० मि) मा आरोहीको भिडभाड रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले बताएको छ। एमक्यापका प्रमुख अनिल प्रसाईँले आरोहणका लागि आएका आरोही सहित उनीहरूका शेर्पा, सहयोगी, गाइड र भरियाका कारण अहिले आधार शिविरमा भिडभाड रहेको बताए।

‘अहिले मनास्लु आधार शिविरमा आरोहणका लागि आएका आरोही र उनीहरूका सहयोगीको भिडभाड रहेको छ,’उनले भने।

विभिन्न रंगीचंगी टेन्ट टाँगेर आरोहणका लागि आएका आरोही र उनीहरूका सहयोगीहरू बसिरहेको स्थानीय व्यवसायीले बताएका छन्। मनास्लुमा यो सिजनमा अरू सिजनमा भन्दा बढी आरोही हुन्छन्।

उनीहरूका सहयोगीका कारण भिडभाड रहन्छ। सहयोगीहरू आरोहीको व्यवस्थापनमा खटिन्छन् भने आरोहीहरू अभ्यासमा जुटिरहेका हुन्छन्।

गोरखाको माथिल्लो भेग सामागाँउदेखि आधारशिविर एक दिनमा आउजाउ गर्न सकिन्छ। आरोहीहरू आधार शिविरसम्म हेलिकप्टरमै पुग्छन्।

स्थानीय पर्यटन व्यवसायी दावा नुर्वु लामाले मनास्लु आरोहणको दोस्रो, तेस्रो, चौथो शिविरमा यो बेला बढी भिडभाड रहेको बताए। ‘मनास्लु आरोहणको यो उपयुक्त समय हो। यही बेला आरोहणका लागि विदेशी आउँछन्,’ उनले भने, ‘पाहुनाको भिडभाड रहेको छ। आधारशिविर क्षेत्रमा भिडभाड रहेको छ।’

उनका अनुसार सरकारले पछिल्लो समय सगरमाथा आरोहणमा जानुअघि ८ हजार मिटर अग्लो हिमाल अनिवार्य रूपमा आरोहण गर्नुपर्ने बाध्यकारी बनाएको छ। त्यसपछि सगरमाथाको तयारीमा रहेका आरोही पनि अभ्यासका लागि मनास्लुमा आउन थालेका छन्।

‘मनास्लुमा आएर सगरमाथाका लागि तयारी गर्ने पनि पर्याप्त हुन्छन्, यो वर्ष त्यसैले पनि संख्या बढी छ,’ उनले भने, ‘अघिल्ला वर्ष भन्दा यो पटक बढी भिडभाड रहेको छ।’

उनका अनुसार यो पटक आरोहणको अन्तिम तयारीमा रहेको बेला आगामी साता मौसम बिग्रने भन्ने सरकारको भनाई पछि आरोही अलि बढी चिन्तित बनेका छन्। कतै आरोहण पुरा गर्न नसकिने हो की भन्ने चिन्ता आरोहीमा रहेको उनले बताए।

‘मौसम बिग्रने डरले आरोहीहरू हतार गरिरहेका छन्,’उनले भने, ‘मौसम नबिग्रेको खण्डमा आरोहण पुरा हुनेछ । कतिपय आरोहीले आरोहण त्याग्ने मनस्थिति समेत बनाएका छन्।’

स्नोइ होरिजन ट्रेक्स एण्ड एक्सपीडिसनका अध्यक्ष बोधराज भण्डारी मनास्लुमा यो बेला आरोहणका लागि उपयुक्त समय मानिने भएकोले भिडभाड हुने बताउँछन्।

उनका अनुसार यस वर्षको मनास्लु आरोहण सिजन अहिलेसम्मकै उत्साहजनक देखिएको थियो। यस सिजनमा हालसम्म ४९३ जना विदेशी आरोहीले मनास्लु आरोहणका लागि अनुमति (पर्मिट) लिएको तथ्यांक आएको उनले बताए।

यो संख्या पछि अझै थपिन सक्ने भए पनि अहिलेसम्मकै अवस्थालाई हेर्दा आरोहणका लागि उल्लेखनीय सहभागिता देखिएको भण्डारीले जानकारी दिए।

‘सिजनको मध्यतिर आइपुग्दा मौसममा आएको अचानक परिवर्तनले आरोहण प्रभावित भएको छ । सेप्टेम्बर १८ को रातदेखि १९ सेप्टेम्बरभरि भएको निरन्तर हिमपातका कारण मनास्लु हिमाल हाललाई आरोहणका लागि अनुकूल अवस्थामा छैन,’ उनले भने ‘माथिल्लो क्षेत्रमा भारी हिमपात भएपछि बाटो तथा क्याम्पमा समेत जोखिम बढेको छ।’

हरेक वर्ष मनास्लु आरोहणमा आरोही पठाउँदै आएका भण्डारीका अनुसार आरोहणको बाटो तयार पार्ने फिक्सिङ टोलीले सेप्टेम्बर १७ को राति करिब सवा नौ बजेसम्म डोरी फिक्सिङको काम गरेको थियो।

तर, त्यस लगत्तै परेको हिमपातले माथिल्लो तथा तल्लो क्षेत्रमा हिउँ थपिएको र अवस्था फेरि चुनौतीपूर्ण बनेको उनले बताए।

सेप्टेम्बर २४–२५ देखि करिब एक सातासम्म नेपालमा ठुलो वर्षा तथा हिमपात हुन सक्ने सम्भावना देखिएकाले सम्बन्धित निकायले आरोही तथा सहयोगी टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको समेत उनले बताए।

यस्तो अवस्थामा आरोही, शेर्पा तथा सहयोगी कर्मचारीलाई सुरक्षित स्थानतर्फ फर्काउने वा केही समय आरोहण गतिविधि स्थगित गर्ने अवस्था आउन सक्ने सम्भावना रहेको पनि उनले बताए।

आगामी एक–दुई दिनको मौसम र विशेष गरी सम्भावित प्रतिकूल मौसम प्रणालीपछि मात्र आरोहणको वास्तविक अवस्था स्पष्ट हुने उनले बताए।

यस वर्षको सुरुआतमा अत्यन्त राम्रो देखिएको मनास्लु आरोहण सिजनमा मौसमले अन्तिम चरणमा चुनौती थपेको उनले बताए। अब आरोहण गतिविधि मौसममा हुने सुधार, हिमपातको अवस्था र बाटोको सुरक्षामा निर्भर रहने पनि भण्डारीको भनाई छ।

मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै २०७९ सालमा ४ सय ४ जनाले अनुमति लिएका थिए। त्यो संख्या २०८० मा २६ समूहका ३ सय १ जनाले अनुमति लिएका थिए भने गत वर्ष बढेर ३ सय ८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याङकमा उल्लेख छ।

मनास्लुमा सबैभन्दा पहिलो सन् १९५६ मा पहिलो पटक आरोहण पुरा भएको थियो। त्यसपछिको यो अवधिमा अहिलेसम्म करिब ३ हजार जनाले मनास्लु हिमाल आरोहण गरिसकेका छन्।

प्रकाशित: ५ आश्विन २०८३ १८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App