१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

नवलपुरमा २१६ शव भेटिए : १७ वटाको पहिचान, १५९ को व्यवस्थापन

फाइल तस्बिर

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका २१६ शवमध्ये हालसम्म १५९ वटा शवको व्यवस्थापन गरिएको हो। जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसेका शवहरुको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिए। पहिचान नभएका शवहरु कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनि गाडेर अस्थायी व्यवस्थापन गरिएको उनको भनाइ छ।

जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये महिलाका २९, पुरुषका ४७, बालक र बालिकको सात-सात वटा तथा ६९ वटा मानव अङ्ग रहेका उनले बताए। जिल्लामा हालसम्म महिलाको ४७, पुरुषको ७३, बालकको ११ तथा बालिकाको १५ वटा शव फेला परेको छ।

त्यस्तै खुट्टा, हात, छातीको भाग, शरीरको बायाँ भाग, पेटको भाग, टाउकाको भाग, कम्मरमाथिको भाग गरी ७० वटा मानव अङ्ग फेला परेको सूचना अधिकारी पण्डितले जानकारी दिए। जिल्लामा भेटिएकामध्ये १७ वटा शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ।

पहिचान भएका शवमध्ये मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका २४ वर्षीय सुमन गोले र ३६ वर्षीय उद्धव खड्का, गोरखा पालुङटार-५ की ४२ वर्षीया सुजाता कौडाल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षीय केदार पण्डित, चितवनको माडी-७ का २८ वर्षीय विमल काफ्ले, अर्घाखाँचीको पाणिनी-७ का ४५ वर्षीय नारायणबहादुर थापा र नवलपरासी (बर्दघाट-सुस्तापश्चित)को सुस्ता-१ का ३७ वर्षीय यादव भण्डारीको पण्डितले बताए।

त्यस्तै, धादिङ खनियावास-५ का ४२ वर्षीय संजोग घर्तीमगर, नुवाकोटको बिदुर-७ की ५६ वर्षीया शारदा ढकाल, वडा नम्बर ८ का २८ वर्षीय विशाल आलेमगर र वडा नम्बर १० का पाँच वर्षीय बालक प्रतिन्स तामाङ, सप्तरी खड्क-५ का २८ वर्षीय सन्तोष चौधरी, काभे्र पाँचखाल-६ का ४६ वर्षीय डिगबहादुर कायस्थ, काठमाडौँ बौद्धका ३४ वर्षीय राजु सुनार र रसुवाको आमाछोदिङमो-३ की ३४ वर्षीया हीमा लोप्चन र सिन्धुपाल्चोक जुगल-५ का २१ वर्षीय वीरबहादुर श्रेष्ठको पहिचान खुलेको उनले बताए।

पहिचान खुलेका शवको सबै प्रकृया पूरा गरी परिवारलाई हस्तान्तरण गरिएको उनको भनाइ छ। परिवारको जिम्मा लगाइएका शवमध्ये प्रहरी कार्यालयमा तस्बिर हेरेर, घटनास्थमै आफन्त पुगेर, वेबसाइटमार्फत तस्बिर हेरेर तथा हातको पाखुरामा खोपिएको ट्याटुबाट आफन्तहरुले पहिचान गरेका प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

जिल्लामा भेटिएकामध्ये ४० वटा शवको व्यवस्थापन गर्न बाँकी रहेको पण्डितको भनाइ छ। उनकाअनुसार व्यवस्थापन हुन बाँकी रहेका शवमध्ये १४ महिला, १४ पुरुष, तीन बालक, आठ बालिकाको तथा एउटा मानव अङ्ग रहेको छ। 

प्रकाशित: १६ भाद्र २०८३ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App