तत्कालीन श्री ५ पृथ्वीनाराण शाहले बाइसी/चौबिसी राज्य एकीकरण गरेपछि विश्राम लिएको उनको समाधिस्थल देवीघाट नुवाकोटको मात्र नभएर मुलुककै ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्यस्थल हो। बाढीले बगर बनाउनुअघि यस क्षेत्रमा दैनिक १५ सयदेखि २ हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दथे। स्थानीयका घर कुनै सग्ला छैनन्। बाँकी रहेका घर पनि पूरै हिलो र बालुवाले भरिएको छ। घरभित्रका धनसम्पत्ति पनि बचेको छैन।
बाढी आउनुअघि दैनिक व्यापारिक चहलपहलले भरिने देवीघाट बजार अहिले मसानघाट झैं सुनसान छ। भदौ १० गते आएको भोटेकोसी बाढीले देवीघाट बजार तहसनहस बनाएपछि पुरानो रौनक सकिएको छ। सडक, पसल, घर तथा आसपासका भौतिक संरचनासहित देवीघाट बजारका पाँच सय घर बगाएर बगरमा परिणत भएको छ। केही क्षतविक्षत् घरहरूमा पनि पूरै हिलो र पांगो तथा बालुवा-ढुंगाको थुप्रो लागेको छ। सुनामी झैं अतिवेगका साथ आएको बाढीले देवीघाट बजारको तीनतले ढलान घरभित्र च्यापिएको अवस्थामा रहेको नीरज भण्डारीको शव तीन दिनपछि निकालिएको थियो।
देवीघाट क्षेत्रमा पनि भण्डारीलगायत दर्जन मानिसको ज्यान गएको छ। कयौं बेपत्ता भएका छन्। यहाँका स्थानीयले अहिलेसम्म नदेखेको बाढीको विपत्तिपछि बाँकी रहेको भग्नावशेषभित्र रसुवादेखि बगाएर ल्याएका मान्छे, मरेका पशु चौपायालगायतले दुर्गन्ध फैलिन थालेपछि पीपलटारको होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका स्थानीय देवीघाट फर्किएका छैनन्। बाढीले देवीघाटमै रहेको वृद्धाश्रम भवन पनि क्षतविक्षत् बनाएको छ। बाढीले २५ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको संरचनामा समेत असर पुर्याएको छ। सोही ठाउँमा रहेको १४ मेगावाटको त्रिशूली देवीघाट जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएको छ।
देवीघाट केवल एउटा बजार मात्र थिएन, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय गन्तव्यस्थानसमेत हो। देवीघाट क्षेत्रमा तत्कालीन राजा पृथ्वीनारायण शाहको निधन तथा अन्त्येष्टि भएको इतिहास छ। तादी र त्रिशूली नदीको संगमस्थलका रूपमा परिचित देवीघाटमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरू थिए। यी सबै संरचनामा बाढीले क्षति पुर्याएको छ। सार्वजनिक तथा निजी सम्पत्तिलगायत बजारका भौतिक संरचनामा पुर्याएको क्षति स्थानीय व्यापार र जनजीवनसँग मात्र सीमित थिएन। अहिले सम्पूर्ण संरचना बाढीले ध्वस्त पारेपछि यस क्षेत्रको ऐतिहासिक पहिचानमाथि चिन्ता थपिएको स्थानीयवासी झम्कनाथ रिमालको भनाइ छ।
बाढीपछि यो क्षेत्र पूरै सुनसान भएको छ। देवीघाटमा पीपलटार ओरालोबाट झर्नासाथ बचेको प्रहरी चौकीबाहेक अरू सबै संरचना ध्वस्त भएको छ। यस क्षेत्रमा पाँच सयभन्दा बढी निजी घर तथा विभिन्न भौतिक संरचनामा क्षति भएको छ। बाढीले रसुवागढी–गल्छी जोड्ने तादी नदीको नयाँ र पुरानो दुईवटा पुलसमेत बगाएको छ। पुल बगेका कारण देवीघाटतर्फबाट धादिङको गल्छी जाने सडक सञ्जाल नै टुटेको छ।
अझ एकपटक सरकारले नै रसुवाबाट अझै ठुलो बाढी आउँदै छ, नदीको बहाब जुनसुकै बेला बढ्न सक्ने भएकाले जोखिम कायमै रहेको सूचना सार्वजनिक गरिदिएपछि देवीघाटका स्थानीयले अब आफूहरू विस्थापित हुनुपर्ने अवस्था आएको बताए।
नुवाकोटको ऐतिहासिक एवं पुरानो बजार देवीघाट हेर्न जानेको भीड छ। यसअघि देवीघाट क्षेत्रमा स्वदेशी र विदेशी गरी दैनिक दुई हजारको संख्यामा पर्यटक पुग्थे। यसैगरी मुलुकभरका विभिन्न स्थानबाट विद्यालय तथा क्याम्पसले आफ्ना विद्यार्थीलाई शैक्षिक भ्रमण तथा ऐतिहासिक सम्पदा पृथ्वीनारायणको सालिक भएको स्मृति पार्क हेर्न पुग्ने अवलोकनकर्ता जालपादेवी मन्दिरको दर्शन गर्ने धार्मिक तथा विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति हुन्थ्यो। रसुवागढी–गल्छी सडक मार्ग पनि यही बजार भएर छिचोल्नुपर्ने भएकाले अन्य व्यापारिक कारोबार तथा सवारी साधनको बाक्लो भीड नै हुने गरेको थियो। ती संरचना केही पनि बाँकी छैन। बाढीले नुवाकोट जिल्लाकै पुरानो रणनीतिक एवं सामरिक व्यापारिक केन्द्रका रूपमा समेत परिचित देवीघाटको इतिहास नष्ट पारिदिएको छ।
बाढीले बगरमा परिणत बनाएको सोमबार ६ दिन पुगिसक्दा पनि अझै प्रहरी चौकीअगाडिको गल्छीतर्फ जाने यस क्षेत्रको मुख्य सडकमा भएको हिलो र बालुवाको थुप्रो स्काभेटर लगाएर दायाँबायाँ पल्टाएर छाड्ने र माथिबाट नांगा आँखाले देखिएका मानव शव टिप्नेबाहेक अरू काम भएको छैन।
प्रकाशित: १६ भाद्र २०८३ १२:५४ मंगलबार





