२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा भिडियो हेरेर ‘ग्याङ फाइट’ मा संलग्नलाई पक्राउ

लागुऔषध कारोबारमा विवाद भएपछि ग्याङ फाइट

सामाजिक सञ्जालमा ‘ग्याङ फाइट’ भएको भिडियो देखेपछि खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा ग्याङ फाइट गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। लागुऔषध कारोबारका कारण ग्याङ फाइट भएको प्रहरीले बताएको छ।  

कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार वैशाख २२ गते राति करिब साढे नौ बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र त्यस अन्तर्गतको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिएको थियो। त्यही टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार झगडामा संलग्न उनीहरुलाई बाझापाटन र बसपार्क क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो।  

‘बाग्लुङ बसपार्कमा एक आपसमा झै–झगडा (ग्याङ फाईट) गरेको भिडियो सामाजिक सञ्जालमा पाइएपछि प्रहरीले अनुसन्धान थालेको थियो,’ डिएसपी बस्नेतले भने, ‘अनुसन्धान तथा खोजतलास गर्दै जाँदा झै–झगडामा संलग्न ६ जना व्यक्ति पक्राउ परेका छन्।’ झै–झगडा गर्नुको मुख्य कारण लागू औषध कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।  

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ बाझापाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही स्थान बस्ने मादी गाउँपालिका–११ का २३ वर्षीय राजेश परियारर रहेका छन्। त्यस्तै गोरखाको धार्चे गाउँपालिका–६ घर भई बाझपाटन बस्ने ३० वर्षीय दिपेश भन्ने दिलेराम गुरुङ रहेका छन्।

त्यसैगरी नुवाकोट स्थायी ठेगाना भई हाल पोखरा–२ बागलुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ र २५ वर्षीय राजकुमार तामाङ तथा पोखरा–२ बागलुङ बसपार्क बस्ने २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

डिएसपी  बस्नेतले ‘सामाजिक संजालमा सार्वजनिक भएको भिडियोका आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको र झगडाको मुख्य कारण लागुऔषध कारोबार देखिएको’ बताएका छन्। सार्वजनिक स्थानमा अशान्ति मच्चाउने र गैरकानुनी गतिविधिमा संलग्न भएकोले उनीहरुलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए। प्रहरीले पक्राउ परेका ६ जनामाथि नै म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको पनि प्रहरीको भनाई छ।

प्रकाशित: २७ वैशाख २०८३ १६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App