२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

थाकेको गोरुमाथि अत्याचार गर्ने व्यक्ति पक्राउ

आफ्नै खेतबारीमा गोरु जोत्ने क्रममा निर्दयी रूपमा कुटपिट गरी उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्युठानका ३६ वर्षीय जालराम थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

गौमुखी गाउँपालिका वडा नं-१ बस्ने थापालाई पशुपन्छीप्रति क्रूर व्यवहार गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार केही दिनअघि थापाले गोरु हिँड्न नसकी खेतमा बसेपछि गोरुको नाक र मुखमा माटो कोचेर अमानवीय रूपमा कुटपिट गरेका थिए।

उनले सोही दृश्यको भिडियो खिचेर आफ्नो फेसबुक र टिकटक अकाउन्टमा पोस्ट गरेका थिए। भिडियो भाइरल भएपछि जनस्तरबाट चर्को आलोचना र कारबाहीको माग भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार थापामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ अन्तर्गतको दफा २९० बमोजिम ‘पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ।

उनलाई जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान सुरु गरिएको छ।

मुलुकी अपराध संहितामा पशुपन्छीलाई कुटपिट गर्ने, अङ्गभङ्ग बनाउने वा अन्य कुनै किसिमले निर्दयी व्यवहार गर्ने कार्यलाई दण्डनीय मानिएको छ।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोलाई नै मुख्य प्रमाणका रूपमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०८३ १७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App