७ असार २०८३ आइतबार
image/svg+xml
समाज

प्रहरीलाई चक्कु प्रहार गर्ने युवक पक्राउ

विराटनगरमा आइतबार दिउँसो प्रहरीका असईसहित ३ जनामाथि चक्कु प्रहार गरी घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवकले प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन्। उनलाई सुधार गृह पठाउने तयारी भइरहेको थियो।

रामेछाप घर भई विराटनगर महानगरपालिका–१, अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिन कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार आइतबार दिउँसो साढे ३ बजेतिर कार्कीलाई सुधार गृह लैजान खोज्दा दुई जना प्रहरी र एक जना सुधार गृहका कर्मचारीमाथि उनले चक्कु प्रहार गरी घाइते बनाएका थिए। कार्कीलाई आइतबार दिउँसो ‘नेपाल नामक सुधार गृह’ काठमाडौं पठाउने तयारी भइरहेको थियो। डीएसपी मिश्रले भने, “सोही क्रममा कार्कीले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। तत्कालै घटनास्थलमा पुगेको सिआरबी भट्टराईको प्रहरी टोली र सुधार गृहका कर्मचारीले उनलाई सम्झाइबुझाइ गरी कोठाबाट निकाल्न खोजे। तर, कार्कीले आफ्नै ओछ्यानमा लुकाएर राखेको चक्कु झिक्दै सिआरबीका प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटामाथि टाउकोमा प्रहार गरी घाइते बनाए।”

आक्रमणबाट घाइते भएका तीनै जनाको टाउकोमा चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको डीएसपी मिश्रले बताए।

उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। काकीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असार २०८३ १९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App