भक्तपुरको सूर्यविनायकबाट हराएको स्कुटरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले शनिबार सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरीको स्कुटरसहित ३१ वर्षीय माइते सिं स्याङ्तानलाई पक्राउ गरेको हो।
काठमाडौंको गोकर्णेश्वर बस्दै आएका स्याङ्तानको स्थायी घर सिन्धुलीको मरिण गाउँपालिका-४ हो। प्रहरीका अनुसार गत साउन १ गते राति सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको थियो।
स्कुटरधनीले दिएको उजुरीका आधारमा खोजीमा खटिएको प्रहरी टोलीले स्याङ्तानलाई उक्त स्कुटर चलाइरहेकै अवस्थामा सल्लाघारीबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका स्याङ्तानमाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १५:५३ सोमबार





