अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।
यद्यपि उनले वैवाहिक सम्बन्ध बिग्रिएको स्वीकार गर्दै आफूले ममतालाई मानसिक तथा भावनात्मक तनाव दिएको बताएका छन्।
बुधबार (नोभेम्बर ४) मुद्दाको १६औँ दिन प्रतिरक्षा पक्षका साक्षीका रूपमा अदालतमा उपस्थित भएका ३९ वर्षीय नरेशले आफ्नो बाल्यकाल, अमेरिका आगमन, अमेरिकी सेनामा काम गरेको अनुभव र ममतासँगको वैवाहिक सम्बन्धबारे बयान दिएका हुन्।
सरकारी वकिल ट्रेसी लेनोक्सले ममता बेपत्ता हुनुभन्दा केही महिनाअघिका दम्पतीबीच भएका टेक्स्ट म्यासेज देखाउँदै नरेशलाई शारीरिक हिंसाको धम्की दिएकोबारे प्रश्न गरेकी थिइन्। जवाफमा नरेशले भने, ‘शारीरिक हिंसा होइन, मानसिक (भावनात्मक) तनाव दिने काम गरेको थिएँ।’
नरेशका अनुसार सन् २०२४ को सुरुवातदेखि उनीहरूबीच दैनिकजसो झगडा हुने गरेको थियो। आफूले ममतालाई सम्बन्धविच्छेद गर्ने धम्की दिने र ममताले आत्महत्या गर्ने धम्की दिने गरेको उनले बताए। कहिलेकाहीँ ममताले पकाएको खाना नखाने र उनीसँग बोलचालसमेत बन्द गर्ने गरेको पनि उनले स्वीकार गरे।
तर ममताका भाइ महेश काफ्लेले यसअघि अदालतमा बयान दिँदै ममताले आफ्नो अनुहारमा चोट र नीलडाम देखिने तस्बिर पठाएको बताएका थिए। ममताले आफू घरमा सुरक्षित नरहेको भन्दै पटकपटक बताउने गरेको उनको भनाइ थियो। ममताकी साथी सरिता न्यौपानेले पनि नरेशले कुटपिट गर्ने गरेको कुरा ममताले आफूलाई सुनाएको बयान दिएकी थिइन्।
अदालतमा नरेशले ममतासँग फेसबुकमार्फत चिनजान भएको र एक–दुई साताको कुराकानीपछि विवाह गर्ने निर्णयमा पुगेको बताए। विवाहपछि सुरुका दिन सुखद रहे पनि छोरी जन्मिएपछि सम्बन्धमा परिवर्तन आएको उनको दाबी थियो। ममताको व्यवहारमा परिवर्तन आएको र सानातिना विषयमा पनि विवाद हुने गरेको उनले बताए। ममताको मानसिक स्वास्थ्यमा समस्या हुन सक्ने आफूलाई अहिले लागे पनि त्यतिबेला गम्भीरतापूर्वक ध्यान नदिएको उनले स्वीकार गरे।
फेब्रुअरी १४ मा ममताले साथी सरिता न्यौपानेसँग बाहिर घुम्न गएको र त्यसपछि संयुक्त बैंक खाताबाट एक हजार अमेरिकी डलर निकालेको विषयमा विवाद भएको नरेशले बताए। तर सोही दिन ममताले पहिलोपटक आफ्नै व्यक्तिगत चेकिङ र सेभिङ खाता खोलेको बैंक अभिलेखले देखाएको छ। सरिताले नरेशले पैसा नियन्त्रण गर्ने गरेको भन्दै आफूले ममतालाई छुट्टै बैंक खाता खोल्न सहयोग गरेको बयान दिएकी थिइन्। नरेशले भने आफूले कहिल्यै ममताको पैसा रोकेको दाबी अस्वीकार गरे।
ममता केही समय घर छाडेर साथी सरितासँग बसेको विषयमा पनि अदालतमा फरकफरक बयान आएका छन्। सरिताले ममता करिब तीन हप्ता आफूसँग बसेको बताएकी छन् भने नरेशले तीन दिनमै घर फर्किएको दाबी गरेका छन्।
सरकारी वकिलले प्रस्तुत गरेका टेक्स्ट म्यासेजको व्याख्यामा पनि नरेशले असहमति जनाएका छन्। नेपाली भाषामा भएका संवादको अनुवादका कारण कतिपय सन्देशको गलत अर्थ लगाइएको उनको दाबी छ। ममताले आफूलाई आत्महत्याका लागि उक्साउने काम नगर्न आग्रह गरेको सन्देशबारे पनि अदालतमा छलफल भएको थियो।
त्यसैगरी अर्की कोलम्बियाली युवतीसँग विवाह गर्ने विषयमा घरमा बस्ने व्यक्तिका भाइ रोडोल्फोसँग गरेको कुराकानी ठट्टामात्र भएको नरेशले बताए। ममतामा ईर्ष्या उत्पन्न गराउन आफूले जानाजानी त्यस्तो सन्देश पठाएको उनको दाबी थियो।
नरेशले आफ्नो बाल्यकाल भारतको नयाँदिल्लीबाट सुरु भएको र पछि पश्चिम नेपालको दुर्गम गाउँमा हुर्किएको बताए। १३–१४ वर्षको उमेरमा द्वन्द्वका क्रममा विद्रोही समूहले नियन्त्रणमा लिएर सैन्य गतिविधिमा संलग्न हुन दबाब दिएको र शारीरिक दुर्व्यवहार गरेको उनको भनाइ थियो। सन् २०१६ मा भिसा लटरीमार्फत अमेरिका आएको र पछि अमेरिकी सेनाको रिजर्भमा काम गरेको उनले अदालतमा बताए।
शव अझै फेला परेको छैन
ममता सन् २०२४ जुलाईको अन्त्यतिर भर्जिनियाको मनासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन। सरकारी पक्षले नरेशले ममताको हत्या गरी शवका टुक्रा उत्तरी भर्जिनियाका विभिन्न फोहोर फाल्ने स्थानमा पुर्याएको दाबी गर्दै आएको छ।
सरकारी वकिलले यसअघि भट्ट दम्पतीको घरको बेडरुम र बाथरुममा भेटिएको रगतको डीएनए ममतासँग मेल खाएको प्रमाण अदालतमा प्रस्तुत गरेका थिए। त्यसैगरी एउटा आरामा भेटिएको रगत, नरेशको मोबाइलबाट गरिएको गुगल खोजी, सीसीटीभी फुटेज तथा सरसफाइका सामग्री खरिद गरेको विवरणलाई पनि अभियोजन पक्षले प्रमाणका रूपमा अघि सारेको छ।
ममता बेपत्ता हुनुअघि नरेशले ‘भर्जिनियामा श्रीमती हराएमा के हुन्छ’, ‘श्रीमतीको मृत्यु भएमा के हुन्छ’ र सम्बन्धविच्छेदसम्बन्धी विषय गुगलमा खोजेको अभियोजन पक्षको दाबी छ। ममता हराएपछि नरेशले घर बेच्ने प्रयास गरेको विषयलाई पनि सरकारी पक्षले शङ्कास्पद मानेको छ।
नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको गरी तीनवटा अभियोग छन्। उनले सबै अभियोग अस्वीकार गर्दै आएका छन्।
सरकारी पक्षले नोभेम्बर २ मा आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्ने काम सकेपछि प्रतिरक्षा पक्षले नरेशलाई नै पहिलो साक्षीका रूपमा अदालतमा उभ्याएको हो।
प्रकाशित: १९ कार्तिक २०८३ ११:१७ बिहीबार




-600x400.jpg)
