१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई आङदेम्बेको प्रश्न : १७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल बाँकी छँदै हटाउनुपर्ने बाध्यताबारे सरकारसँग प्रश्न गरेका छन्।

उनले वर्तमान सरकारको प्राथमिकता १७ महिना कार्यकाल बाँकी रहेका प्रहरी प्रमुखलाई हटाउनेमा केन्द्रित भएको भन्दै अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो कि होइन भन्दै प्रश्न गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आङदेम्बेले भोटेकोशी र बूढीगण्डकी बाढीबाट नागरिक पीडित रहेको, विस्थापित सुकुम्बासीको अवस्था बेहाल रहेको र महँगीले जनजीवन आक्रान्त बनेको उल्लेख गरेका छन्। देश गम्भीर संकटतर्फ अघि बढिरहेको अवस्थामा सरकारले प्रहरी प्रमुख हटाउनुलाई प्राथमिकता दिएको उनको भनाइ छ।

उनले आईजीपीलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्ने प्रश्न गर्दै सरकारसँग जवाफ मागेका छन्।

‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो?’ उनले प्रश्न गरेका छन्।

आङदेम्बेले अनुसन्धानका लागि प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन्।

‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो? मोबाइलमा भएको के मेटाउनु थियो?’ उनले प्रश्न गरे।

जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको उल्लेख गर्दै उनले त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि भएको बताएका छन्। सत्ता र शक्तिको दुरुपयोग गर्न तथा प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न जनताले मत नदिएको उनको भनाइ छ।

‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ आङदेम्बेले भनेका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App