अविरल वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक ३ देखि ६ दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
भन्सार विभागका अनुसार असोज ८ गतेदेखि परेको निरन्तर वर्षाका कारण एनएज-४८ कालीगण्डकी कोरिडोरका विभिन्न खण्डमा पहिरो, सडक कटान तथा पुलको एप्रोच रोड बगाउँदा सडक अवरुद्ध भएको हो।
लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी–१, २ र ३, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोलालगायतका स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको विभागले जनाएको छ।
त्यस्तै, पोखरेबगर पुलको लेफ्ट एप्रोच रोड बगाएको छ। तातोपानी कुण्ड, नार्च्याङ र खामभित्ता क्षेत्रमा नदीको उच्च बहावका कारण सडक कटान भएपछि आवागमन प्रभावित भएको छ।
सडक विभाग तथा मातहतका निकायले अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम गरिरहेको जनाएको छ। केही स्थानमा सडक सञ्चालनमा आइसकेको र बाँकी अवरोध हटाउने काम भइरहेको छ।
भन्सार विभागका अनुसार वर्षा रोकिएर सडक खुलाउने काममा थप अवरोध नभएमा ३ देखि ६ दिनभित्र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने जानकारी सडक विभागबाट प्राप्त भएको छ।
सडक अवरोधका कारण कोरला नाकाबाट हुने सामानको आयात–निर्यातमा तत्काल समस्या देखिए पनि सडक विभाग तथा मातहतका निकायको निरन्तर प्रयासबाट छिट्टै सडक सञ्चालनमा आउने विश्वास विभागले व्यक्त गरेको छ।
प्रकाशित: १३ आश्विन २०८३ ०६:४६ मंगलबार





-600x400.jpg)