देशभर भइरहेको लगातारको वर्षाका कारण प्रमुख राजमार्गहरूमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ।
प्रहरीले बिहान ६ बजेसम्मको बाटो अवरुद्ध सम्बन्धी सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। प्रहरीका अनुसार सुरक्षा सतर्कता र पहिरोका कारण विभिन्न स्थानका मुख्य सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द भएका छन्।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्मका लागि बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधनहरू सुचारु हुने गर्छन्।
मकवानपुरको कान्ति लोकपथ सडक खण्डमा पनि वर्षातका कारण जोखिम बढेकोले रातिको समयमा सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा सवारीसाधन चलाउन पाइने छैन।
इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भएर सवारीसाधन आवतजावत गर्न नसक्ने भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग अन्तर्गत दुई छुट्टाछुट्टै स्थानमा पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ। भोटेकोशी गाउँपालिका-४, जिरोकिलोमा सडक माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ भने भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित इकु पहिरोमा सडक माथिबाट ढुंगा र माटो सहितको लेदो खसेर यातायात पूर्ण रूपमा ठप्प भएको छ।
बागलुङको जैमिनी नगरपालिका-८, बेलबगरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६, माम्खास्थित मध्यपहाडी लोकमार्गमा दिक्तेलबाट भोजपुर जाने सडक खण्डमा माथिबाट पहिरो झर्दा सडक पूर्ण रूपमा अवरोध भएको छ।
उता, दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबाँज र मालिकार्जुन गाउँपालिका-८ ऐरीछिनास्थित महाकाली राजमार्गमा वर्षाका कारण सडकमा माथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएका स्थानहरूमा खुलाउने प्रयास भइरहेको भए पनि यात्रा गर्नुअघि सम्भावित जोखिम र सडकको अवस्थाबारे जानकारी लिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
प्रकाशित: ५ श्रावण २०८३ ०६:३२ मंगलबार





