चर्चित अभियन्ता एवं वैज्ञानिक महावीर पुनले जेन–जी युवाले प्रधानमन्त्रीका लागि गरेको अनलाइन भोटिङमा आफूले चार प्रतिशत मत पाएकोमा खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो भोटिङबाट आफूले युवाको मन जित्न बाँकी रहेको आत्म विश्लेषण गरेको भनेका छन्।
पुनले लेखेका छन्, ‘ए, कसलाई प्रधान मन्त्री चुन्ने भनेर भाइबहिनीहरूले चुनाव गरेका रहेछन्। यो कुरा मैले अहिले बाटोमा जाँदै गर्दा देखेँ। अनि सबै भन्दा कम भोट (४ प्रतिशत) पाउने ता म पो रहेछु। म निकै खुसी भएँ किन भने म कहाँ रहेछु भन्ने कुरा प्रस्टसँग थाहा पाएँ। सबै भन्दा कम भोट पाउनुको मतलब मैले युवा भाइबहिनीहरूको मन जित्ने काम पटक्कै गरेको रहेनछु।’
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले यो नतिजालाई प्रेरणाको रूपमा लिँदै आगामी दिनमा थप मेहनत गर्ने वाचा गरेका छन्। उनले थपे, ‘अब वीरगन्ज कृषि औजार कारखाना वीरगन्जमा, राष्ट्रिय आविष्कार केन्द्र काठमाडाैंमा र आर्डसिटी इनोभेसन ल्याब पोखरामा अझै कसिएर काम गर्नेछु ता कि भविष्यमा यस्तै भोटिङ हुँदा मैले भाइ बहिनीहरूको अलि धेरै भोट पाउन सकूँ। अनि त्यसको लागि मेरो आत्मकथाको पुस्तक पनि झन् धेरै बेच्नु पर्ने भयो।’
प्रकाशित: ३० भाद्र २०८२ १०:०९ सोमबार





