२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

महाशिवरात्रि पर्व तयारी अन्तिम चरणमा : ८ लाख दर्शानार्थी र ४ हजार साधुसन्त मेला भर्न आउने

लागू पदार्थ नियन्त्रणका लागि स्थलगत रूपमै नियन्त्रण गर्ने कोषको तयारी

फागुन ३ गते मनाइने हिन्दुहरूको महान् पर्व महाशिवरात्रि मेलाको तयारी अन्तिम चरण पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बिहीबार पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन्। मेला व्यवस्थापनका लागि विभिन्न ९ उपसमितिहरू गठन गरी भक्तजनहरूलाई अराध्यदेव पशुपतिनाथको दर्शन सहज बनाउन व्यवास्था गरिएको छ।

८ लाख भक्तजन र ४ हाजार साधुसन्त आउने अनुमान गर्दै कोषले विगतको भन्दा फरक तरिकाले भगवान् पशुपतिनाथको दर्शन सहजा र व्यवस्थित बनाउन ५ स्थानमा अस्थायी अकाशे पुलको व्यवस्था गरेको छ।

शिवरात्रिमा नेपाल आउने साधुसन्तले गाँजा, भाङ र मदिरा जस्ता लागू पदार्थ युवाहरूलाई बिक्रीवितरण गर्दै आएको विगतका अनुभवलाई अंगाल्दै यसपटक यस्ता लागू पदार्थ सेवन र बिक्रीवितरणलाई कडा रूपमा रोक लगाउने उनले बताए। ‘पशुपति क्षेत्र माँस, मदिरा  निषेधित क्षेत्र भएकोले माँस मदिर तथा गाँजा भाङ जस्ता लागू पदार्थ नियन्त्रणमा जोड दिएको छ,’ कार्यकारी निर्देशक जोशीले भने, ‘नियन्त्रणका लागि स्थलगत रूपमै नियन्त्रणको कार्य नियमित गरी प्रभावकारी रूपमा नियन्त्रण गर्ने व्यवस्था प्रहरीको सहकार्यमा गरिएको छ।’ कोषले मेला व्यवस्थापनका लागि यस पटक १ करोड २० लाख बजेट छुटाएको उनले बताए। साधुसन्तको व्यवस्थापन र दक्षिणाका लागि भने २० लाख रुपैयाँ कोषले छुटाएको उनले भने।

कोषले दर्शन सम्बन्धी व्यवस्था सहज बनाउन बत्तिसपुतली, मैतीदेवी, पुरानो बानेश्वर तर्फबाट आउने दर्शनार्थीहरूका लागि गौशाला–पिंगलास्थान गेट हुँदै वनकाली धर्मशालालाई बायाँ पारेर चारशिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट प्रवेश गरी चौसठी शिवलिङ्ग मार्ग हुँदै मन्दिर प्रागणमा प्रवेश गर्ने र भूलभट्ट निवास पूर्व बाहिरी दक्षिण ढोकाबाट हुँदै फर्कने व्यवस्था गरिएको छ।

भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, एअरपोर्ट, तिलगंगा क्षेत्रबाट आउने दर्शानार्थीहरूका लागि तिलगंगा पर्यटक काउन्टरबाट प्रवेशको व्यवस्था गरिएको छ। काउन्टरबाट प्रवेश गरी राममन्दिर, आर्यघाट हुँदै मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गराइ दर्शनको व्यवस्था गरिएको छ।

जोरपाटी, कपन, महाँकाल, चावहिल तर्फबाट आउने दर्शानार्थीका  लागि मित्र पार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रागणमा प्रवेश गर्ने र पश्चिम मूल ढोकाबाट फर्कने व्यवस्था कोषले गरेको छ।

यसैगरी रातोपुल, कालोपुल, सिफलबाट आउने दर्शानार्थीकोलागि जयबागेश्वरी मन्दिर अगाडिको मछिन्द्र गणेश, दथुटोल, पाचाटोल, अन्नपूर्णा भण्डार हुँदै भूवनेश्वरीको सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। ‘दर्शानार्थीहरूको दर्शन छिटो गराउन यस पटक विहान २ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको छ,’ कार्यकारी निर्देशक जोशीले व्यवस्थाबारे स्पष्ट पारे, ‘पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलकका पर्यटकलाई मेला क्षेत्रमा मन्दिर प्रागण बाहेक अवलोकन र भ्रमण गर्न दिनै व्यवस्था मिलाइएको छ।’ उ

उनले सुरक्षाको ख्याल गर्दै सकेसम्म दर्शानार्थीले साना नानीहरू साथमा नल्याउने र गरगहना नलगाउन कोषले अनुरोध पनि गरेको जानकारी दिए। उनका अनुसार २६ वटा संस्थाबाट २ हजार स्वयंसेवक परिचालन हुने छन्। यस पटक स्वयंसेवकहरूलाई मन्दिरको कोर क्षेत्र बाहिर मात्र परिचालन गर्ने कोषले निर्णय गरेको छ।

दर्शन सहज र सुरक्षित बनाउन नेपाल प्रहरी, नेपाली सेना र सस्त्र प्रहरी गरी ८ हजार सुरक्षाकर्मी परिचालन गरिने उनले बताए। ‘यस पटक कोषले स्वास्थ्य सेवामा विशेष ख्याल गर्दै स्वास्थ्य सम्बन्धी कार्य गर्न सरकारी अनुमति प्राप्त एमबिबिएस डाक्टर रहने गरी स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवाको कार्य गरिने छ,’ उनले भने, ‘पर्याप्त औषधिसहित निःशुल्क उपचारको व्यवस्था मिलाइने छ।’

पर्वमा सबै उपसमितिबाट संचालित स्टल, स्वयंसेवा, संचालन सम्बन्धी कार्यको अनुगमन गर्ने, कुनै उपसमितिको काम कारबाहीमा कमीकमजोरी देखिएमा तत्काल सम्बन्धित उपसमितिका संयोजक एवं सचिवलाई रायसुझावसहित जानकारी गराउन समेत व्यवस्था कोषले मिलाएको छ। सुरक्षा निगरानी चुस्त बनाउन ५० भन्दा बढी सिसिटिभी क्यामेराको थप व्यवस्था गरिएको छ।

प्रकाशित: २९ माघ २०८२ १९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App