माडीगज नामको हात्तीलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो।
प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर शरीरमा झुम्म पर्ने औषधि सुईबाट शरीरमा पठाएर नियन्त्रणमा लिइएको हो। तेह्र वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोष्टमा राखिएको छ। माउतेले थप स्याहार गरेर पूर्ववत् अवस्थामा फर्काएपछि हात्तीलाई गिदेनी पोष्ट लगिने छ।
गैँडा, बाघजस्ता जनावरबाट तर्सने र मात लागेर हात्ती भाग्ने गर्दछन्। त्यसरी भागेका हात्तीलाई राम्रो हेरचाह गरेर केही दिनमा पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ। निकुञ्जमा ५३ वटा ठूला र तीन वटा बच्चा हात्ती रहेका छन्। ती हात्तीले निकुञ्ज सुरक्षामा सघाउने गर्दछन्। रासस
प्रकाशित: ५ श्रावण २०८३ १४:०० मंगलबार





