मधेस प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो।
बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकार आह्वान गर्दछ।
यसैगरी, मन्त्रिपरिषदको बैठकले पर्साको वीरगंजसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएकाे खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ।
खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्करसहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत भएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।
प्रकाशित: २७ असार २०८२ ०६:२५ शुक्रबार





