१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरै एलपी ग्यास भरिँदै

फाइल तस्बिर

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास बोटलिङ (भरिने) भएको छ। ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्। उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक रहेको उनले बताए।

संघका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौं लगिने जानकारी दिए। यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौं लगिने उनको भनाइ छ। बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिएका छन्।

श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको समेत कालाखेतीले जानकारी दिए। अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उनको भनाइ छ। रासस

प्रकाशित: १६ भाद्र २०८३ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App