९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिमबाट लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक

भारी वर्षाबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमबाट चल्ने लामो दुरीका रात्रि बस सञ्चालन रोकिएको छ।

प्रतिकुल मौसम तथा मौसम विज्ञान विभागको भारी र अति वर्षा हुने पूर्वानुमानका कारण सुदूरपश्चिमबाट काठमाडौं र पोखरातर्फ सञ्चालन हुने केही रात्रि बस रोकिएको यातायात व्यवसायीहरूले बताएका छन्।

सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौं र पोखरातर्फ सञ्चालन हुने बस सेवा दुई दिन सञ्चालन नगर्ने निर्णय गरेको सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले बताए।

मौसम विज्ञान विभागले मौसम सम्बन्धी दिएको जानकारी तथा पोखरा र काठमाडौंमा मौसम खराब देखिएकाले यात्रुको सुरक्षालाई लिएर नम्बरमा बस चलाउन रोकेको उनले बताए। आइतबारसम्म बस सञ्चालन गर्न रोकिएको हो।

धनगढीबाट पोखराका लागि दैनिक २ र काठमाडौंका लागि १३ वटा रात्रीबस सञ्चालन हुँदै आएका छन्।

यसैगरी महाकाली यातायातले पनि काठमाडौं र पोखरातर्फ जाने रात्रीबस सञ्चालनमा रोक लगाएको छ। महाकाली यातायातबाट पोखराका लागि दैनिक २ वटा र काठमाडौंका लागि १ दर्जनभन्दा बढी रात्रीबस सञ्चालन हुँदै आएका छन्।

प्रतिकुल मौसमले उच्च जोखिम रहेकाले लामो दुरीका सवारीसाधन सञ्चालन नगरिएको यातायात व्यवसायीले बताएका छन्। मौसम सुधार आएपछि नियमित यातायात सञ्चालन गरिने उनीहरूको भनाई छ।

शुक्रबार बिहानैदेखि कैलाली, कञ्चनपुर लगायतका जिल्लामा वर्षा भइरहेको छ। वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

मौसम विज्ञान विभागले असोज ९ गतेदेखि असोज ११ गते सम्म विभिन्न ठाउँमा भारी वर्षा तथा अति वर्षाका कारण बाढी, भूक्षय, गेग्रान बहाव, चट्याङ लगायतको जोखिम हुने बताएको छ।

प्रकाशित: ९ आश्विन २०८३ १८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App