९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

वर्षाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्नै सकेन, सबै उडान रद्द

एक मात्र अन्तर्राष्ट्रिय उडान पनि रद्द

अविरल वर्षाले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन। विमानस्थल नखुलेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। आन्तरिक र बाह्य उडान रद्द गरिएको विमानस्थलले बताएको छ।

विमानस्थलका प्रबन्धक सुर्यबहादुर खत्रीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न नसकेपछि उडान प्रभावित भएका हुन्। उनका अनुसार एक मात्र अन्तर्राष्ट्रिय उडान पनि रद्द भएको छ।

तीन दिन अघिदेखि उडान थालेको फ्लाई दुबईको उडान पनि रद्द भएको छ। त्यस्तै आन्तरिक हवाई सेवाका अधिकांश उडान रद्द भइसकेका छन्।

विमानस्थलका अनुसार शुक्रबार बुद्ध एयरले पोखराबाट भैरहवाका लागि एक र काठमाडौंका लागि १० वटा गरी ११ वटा उडान राखेको थियो। ती उडान रद्द भएका छन्।

त्यस्तै यती एयरलाइन्सका काठमाडौंका लागि राखिएका ८ र श्री एयरलाइन्सका ४ वटा उडान पनि रद्द भएका छन्।

‘विमानस्थलका लागि भिजिविलिटी नै पुगेन। त्यही भएर उडान प्रभावित भएका हुन । एक मात्र अन्तर्राष्ट्रिय उडान पनि रोकियो। पोखरा–दुबई उडान थालेको तेस्रो दिनकै उडान प्रभावित भएको छ,’ खत्रीले भने, ‘आन्तरिक पनि सबैजसो प्रभावित भए।’

शुक्रबार दुबईबाट पोखरा आउने ८७ जना र पोखराबाट दुबई जाने यात्रुको संख्या ८६ थियो।

‘वर्षाले हवाई सेवा प्रभावित भयो। स्थलमार्ग पनि प्रभावित भएपछि यात्रु अलपत्र परेका छन्। गन्तव्यमा जान नसक्ने अवस्था सिर्जना भएको छ। कनेक्टिङ फ्लाईटका उडान पनि प्रभावित भएका छन्,’ उनले भने, ‘अत्यावश्यक कामले काठमाडौं जानुपर्ने यात्रु यस्तो बेला समस्यामा पर्छन्। त्यस्तै विदेशी पर्यटकको यात्रा पनि प्रभावित हुन्छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनका लागि ३१ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर, वर्षाले शुक्रबार विमानस्थलको भिजिविलिटी घटेर २ हजार मिटरमा झरेको थियो। वर्षासँगै बाक्लो कुहिरो लागेकोले विमानस्थल खुल्न नसकेको उनले बताए। 

प्रकाशित: ९ आश्विन २०८३ १७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App