धुलो र तुवाँलोले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मका स्थानीयको दैनिकी मात्र खलबलिएको छैन, होटल व्यवसाय, पसल-व्यापार, यात्रुको आवागमनसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ। धुलो र तुवाँलोले आजित लहानका स्थानीय पूर्वपश्चिम राजमार्गको लहान खण्डमा चक्का जाम गरेर विरोध जनाइरहेका छन्।
स्थानीय शुभाष जयसवाल भन्छन्, 'चार वर्षदेखि धुलोमा सास फेर्दा बिरामी भैसके। छालाको एलर्जी देखि रुघाजन्य संक्रमण कहिल्यै निको हुँदैन। घरको झ्याल समेत नखोलेको वर्षौ भैसक्यौँ।'
पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला-कञ्चनपुर खण्डको ८६.८२ किलोमिटर निर्माणको ठेक्का पाएको एक चिनियाँ कम्पनीले सम्झौता पालना नगर्दा यस भेगका सर्वसाधारण धुलोमा सास फेर्न बाध्य भएका हुन्।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायुमण्डलमा पिएम २.५ को स्तर वार्षिक सरदर ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएको छ। हावामा रहेका धुलोका सूक्ष्म कणहरूलाई पिएम २.५ भनिन्छ। कमलादेखि कञ्चनपुरसम्मको एयर क्वालिटी पिएम २.५ भन्दा कम छ।
नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भए गुणस्तरीय वायु भनेर तोकेको छ। अमेरिकाको युनिभर्सिटी अफ सिकागोले दुई वर्षअघि स्याटलाइट माध्यमबाट गरेको अध्ययनअनुसार मधेस प्रदेशका जिल्लाहरूमा न्यूनतम ६८ देखि ८१.७ माइक्रोग्राम प्रतिघनमिटर पिएम २.५ को स्तर पाइएको छ।
नेपालमा देखिएको यो स्तरको प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठुलो खतरा रहेको उक्त रिपोर्टमा उल्लेख छ।
कमला-कञ्चनपुर सडक योजनाअन्तर्गत सडक निर्माण अवधिमा धुलो उड्न नदिन नियमित पानी हाल्नुपर्ने सम्झौतामै उल्लेख छ तर सो बुँदा पालना भएको छैन। तर नियम र सम्झौता पालना गराउनुको साटो ठेकेदारकै पृष्ठपोषणमा सरकारी नियामक निकाय लागेको भन्ने स्थानीयको आरोप उनीमाथि छ।
ठेकेदार पक्षले भने निर्माण कार्य भइरहँदा धुलो उड्नु सामान्य भएको बताए, 'निर्माण नसकिएसम्म धुलो त उडिहाल्छ नि। डाइभर्सनमा गाडी चलेपछि खाल्डो पनि हुन्छ,' उनले भने। योजना कन्सल्टेन्ट इन्जिनियर अरुण मिश्रले केही समय कामदार र ठेकेदारबिचको विवादले हाल पानी छर्किने काम प्रभावित भएको बताए।
योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार ठेकेदार कम्पनीले धुलो नियन्त्रणका लागि नियमित पानी छर्किनुपर्ने भनी सम्झौतामा उल्लेख भएको बताए। 'हामीले नियमित पानी छर्किन ठेकेदार कम्पनी र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेका छौँ,' उनले भने।
धुलोका खतरनाक कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्।
२.५ माइक्रोमिटरभन्दा कम व्यास भएका प्रदूषक कणहरू सास फेर्न सकिने खालका हुन्, जुन फोक्सो र रक्तप्रवाहमा प्रवेश गर्न सक्छन्, जसले गर्दा गम्भीर स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्। सबैभन्दा गम्भीर प्रभाव फोक्सो र मुटुमा पर्छ। यसको सम्पर्कले खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने, दम बढ्ने र दीर्घकालीन श्वासप्रश्वास रोगको विकास हुन सक्छ। प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार पछिल्लो समय अस्पतालमा प्रदूषणका कारण दम, श्वासप्रश्वास र छालासम्बन्धी संक्रमणका बिरामीहरूको चाप बढेको छ। 'गर्मीमा मानिसको शरीर पसिनाले भिज्छ र त्यसमा प्रदूषणका कणहरू टाँसिन्छ,' उनले भने, 'पसिना सुकेपछि बालुवाका कणहरूले गर्दा छाला चिलाउने समस्या निम्तिन्छ।'
चिलाउँदा छालामा रातो डाम पर्ने र यसले छालाको संक्रमण सिर्जना गर्ने देखिएको उनको भनाइ थियो। दमका रोगीहरूलाई पनि प्रदूषणले गम्भीर असर पारेको पाइएको उनले बताए। धुलोको कण मिश्रित हावामा सास फेर्न बाध्य यस भेगका दम रोगीहरूमा श्वासप्रश्वासको समस्या देखिएको छ। रक्तचाप र मुटुका बिरामीलाई यसबाट नकारात्मक असर पुर्याइएको पाइएको उनले बताए।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक योजनाको कमलापुलदेखि कञ्चनपुरसम्मको ८६.८२ किलोमिटर सडकमध्ये मुख्य सहर लहान-गोलबजार-मिर्चैया सडक खण्डको नियति हो-घाम लागे धुलो, पानी परे हिलो। चार वर्षअघि यस सडकको विस्तार तथा निर्माणको काम अघि बढेपछि यस क्षेत्रका बासिन्दा र यस सडकका यात्रुले धुलो र हिलोसँग दैनिकी बिताउनुपरेको छ। सुख्खामा धुलोमा सास फेर्नु यहाँका स्थानीयको 'निर्विकल्प' स्थिति भएको छ।
सडक विस्तारका क्रममा भत्काइएका संरचना अलपत्र छाडिएका छन्। भत्काइएका नाला पनि त्यतिकै छन्। नाला व्यवस्थित नहुँदा पसल, घरअगाडिको सडकमा फोहोर पानी जम्मा भएर दुर्गन्ध फैलिरहेको स्थानीय रतन साहले बताए। 'विस्तार गरिएको कच्ची सडकमा पानी नछर्किँदा धुलोले घर भरिन्छ,' उनले भने, 'धुलोमा सास फेर्नुपर्ने बाध्यता छ।
एक महिनादेखि घाँटी खसखसाएर खोकी बल्झेर हैरान छु। डाक्टरले धुलोसँग बच्नुस् भन्छ। घरभरि, सहरभरि धुलोको तुवाँलो भरिएपछि कसरी बच्नु' साहले बताए। यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड ४४ लाख हजार नौ सय ३८ रुपैयाँ राखिएको छ। यो योजनाअन्तर्गत चार लेनको सडक ७०.३३ किलोमिटर, ६ लेनको सडक १६.४९ किलोमिटर र दुई लेनका ५४ पुल निर्माण हुनेछन्। यो योजनाअन्तर्गत आठ वटा अन्डरपास निर्माण गरिँदै छ।
कञ्चनपुर-कमला सडक योजनाको पूर्वी खण्ड ३९.४२ किलोमिटरमा कालोपत्रे गर्ने लक्ष्य छ। ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिँदैछ। ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य छ। यो योजनाअन्तर्गत २९ वटा पुल र दुई वटा अन्डरपास निर्माण हुँदै छ।
कञ्चनपुर कमला सडक योजना पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ। १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार र स्तरोन्नति गरिनेछ। यो खण्डमा २५ वटा पुल निर्माण गरिने भएको छ। चार लेनको सडकको इन्टरसेक्सनमा सडकको तहभन्दा माथि दुई ओभर पास निर्माण गरिँदै छ। तीमध्ये एउटा लहान र अर्को मिर्चैयामा निर्माण गर्ने योजना छ।
प्रकाशित: २० चैत्र २०८२ ११:०५ शुक्रबार





