रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका काठ, दाउरा, ग्यास तथा अन्य सामग्री संकलन गर्न त्रिशूली नदी किनारमा स्थानीय बासिन्दाले ज्यान नै जोखिममा पार्न थालेका छन्।
स्थानीय प्रशासनले नदी किनारमा नजान पटक-पटक सचेत गराए पनि त्यसलाई बेवास्ता गर्दै नागरिकहरू सामग्री बटुल्न नदीमा ओइरिएका हुन्।
बुधबार तनहुँ र चितवनको सीमा भएर बग्ने त्रिशूली नदीमा पानीको सतह केही घटेपछि स्थानीयहरू बाढीले बगाएर ल्याएका तैरिरहेका र किनारमा अड्किएका सामग्री निकाल्न तँछाडमछाड गरिरहेका छन्।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान तनहुँ तथा चितवन जिल्ला प्रशासनले विशेष अपिल जारी गरेका थिए।
तर, प्रशासनको सो चेतावनीलाई बेवास्ता गर्दै स्थानीयहरू डोरी र बाँसको सहारामा उर्लंदो नदी किनारमै पुगेर काठ-दाउरालगायतका सामग्री तान्न व्यस्त देखिएका हुन्।
माथिल्लो तटीय क्षेत्रमा जुनसुकै बेला पनि थप बाढी आउन सक्ने जोखिम कायमै रहेकाले यस्तो कार्यले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सुरक्षा निकायले पुनः नदी किनारबाट टाढा रहन स्थानीयलाई आग्रह गरेको छ।
प्रकाशित: १० भाद्र २०८३ १७:११ बुधबार





