रातिको समयमा वीरगन्ज महानगरपालिकाको बारुणयन्त्रबाट महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले पानी मगाएको देखेर स्थानीयहरूले विरोध गरेका छन्। उक्त विरोधको भिडियो समाजिक सञ्जालहरूमा भाइरल भएको छ।
बुधबार मध्यराति करिब १२ बजे महानगरपालिकाको ना १ ग ८३४ नम्बरको बारुणयन्त्रबाट कार्यवाहक प्रमुख आलमले छ्पकैयास्थित निवासमा पानी खन्याउने क्रममा स्थानीयहरूले विरोध गरेको भिडियोमा देख्न सकिन्छ। बाहिरबाट बारुणयन्त्रमा राखेर ल्याइएको पानीलाई आलमको घरमा खन्याउँदै गर्दा स्थानीयहरूले त्यसलाई नियन्त्रणमा लिन खोजेका थिए।
'हामीलाई पिउनको लागि पानीको व्यवस्था नगर्ने अनि आफ्नो घरायसी कामको लागि सरकारी दमकल किन प्रयोग गरेको' भनेर कार्यबाहक प्रमुखसँग प्रश्न गर्दा उनी भागेर घरभित्र प्रवेश गरेको भिडियोमा देखिएको छ। आलमको घरमा पानी ढुवानी गर्न आएको दमकललाई स्थानीयहरूले नियन्त्रणमा लिन खोजेका थिए।
घटनास्थलमा स्थानीयले दमकललाई नियन्त्रणमा लिन खोज्दा आलमका आफन्तहरूसँग हात हालाहालको अवस्था सृजना भएको थियो। सर्वसाधारण नागरिक पानीको अभाव झेलिरहेका बेला सार्वजनिक स्रोत र साधनको दुरुपयोग गरी आलमले निजी फाइदा उठाएको उनीहरूको आरोप छ।
प्रकाशित: ३२ असार २०८३ ०८:३२ बिहीबार





