पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगतै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।
नारायणी नदीमा आएको बाढी सुस्ता पसेपछि सुस्ताका अधिकांश घर डुबानमा परेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताए । शुक्रबार दिउँसोदेखि लगातार परेको वर्षाले १०० भन्दा बढी घर डुवानमा परेको उनको भनाइ छ । उनका अनुसार २२० परिवार बसोबास गर्दै आएको सुस्ताका थारू टोलमा सबैभन्दा पहिला बाढी पसेको हो।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी पसेका घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको बताए।
नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर रहेकालाई नारायणी नदीवारि सुस्ता ५ मा रहेको बिपी मावि बलिनगरमा ल्याउने तयारी भइरहेको उनले बताए । उनका अनुसार यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।
अहिलेसम्म बाढीबाट डुबानमा परेका २९ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरी सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले बताए।
बाढी पसेपछि पक्कीबाहेक कच्ची घर (खरपात तथा माटोले बनेका) मा क्षति बढी भएको सुस्ताका स्थानीय मुन्सीकुमार हरिजनले बताए।
नारायणी नदीमा यो वर्षकै सबैभन्दा ठूलो पानी आएको मापन गरिएको छ। गण्डक ब्यारेज वाल्मीकिनगरका अनुसार नारायणी नदीमा अहिले दुई लाख ८० हजार क्युसेक पानी पुगेको छ।
प्रकाशित: १० आश्विन २०८३ १५:१३ शनिबार





