मनाङको सदरमुकाम चामेमा बाढीका कारण विस्थापित स्थानीय नागरिकहरू घरबाहिर चिसोमा कष्टकर रूपमा बस्न बाध्य भएका छन्।
विपद्मा परेर सुरक्षित ठाउँको खोजीमा खुला आकाशमुनि रात बिताउन विवश स्थानीयले हालसम्म आफ्नो अवस्था बुझ्न सरकारी निकायबाट कोही पनि नपुगेको भन्दै गुनासो गरेका छन्।
बाढी र पहिरोको तीव्र जोखिमका कारण घरभित्र बस्न सक्ने अवस्था नरहेपछि स्थानीय बासिन्दाहरू घर छाडेर बाहिर निस्किएका हुन्। तर, संकटको घडीमा स्थानीय प्रशासन तथा जनप्रतिनिधिले कुनै चासो नदेखाएको उनीहरूको आरोप छ।
‘बाढीले गर्दा हामी घरभित्र बस्न नसकेर सबै जना बाहिर बस्न बाध्य भएका छौं,’ एक पीडित स्थानीयले भने, ‘हामी कस्तो अवस्थामा छौं, के-कस्तो समस्या छ भनेर बुझ्न अहिलेसम्म कोही पनि आइपुगेको छैन।’
सदरमुकाम चामेमै बाढी प्रभावितहरू बेसहारा बनेर खुला ठाउँमा बस्नुपरेपछि स्थानीय नागरिकमा थप त्रास र आक्रोश बढेको छ। उनीहरूले तत्काल सुरक्षित आश्रयस्थल, राहत र विपद् व्यवस्थापनका लागि प्रशासनसँग माग गरेका छन्।
प्रकाशित: ११ आश्विन २०८३ २०:५९ आइतबार





