१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

घरदैलोमा सेवा पाउँदा स्थानीय खुसी

म्याग्दे गाउँपालिका-१ टाक्राङका रितीमाया आले गाउँपालिका र वडाबाट उपलब्ध हुने  सेवा घरदैलोमा पाउँदा खुसी देखिइन् ।  एकीकृत सेवा लिन पालिका वा वडा जानुपर्ने बाध्यता रहेकामा घरदैलोमा सबै सेवा पाएपछि उनी हर्षित भइन् ।  

उनले घरदैलोबाट सेवा पाउँदा टाढा जानुपर्ने बाध्यता हटेको भन्दै आलेले यसबाट समयको बचत हुनुका साथै सहज भएको बताइन । उनले भनिन्, ‘आफ्नै दैलोमा सेवा पाउँदा समय पनि बचत भयो । सुगर, प्रेसर, घुँडा दुख्ने समस्याको जाँच गरेँ । निःशुल्क औषधि पायौँ, बिउबीजन पनि निःशुल्क रूपमा पायौँ ।’

स्थानीयवासी ईश्वरी रानामगरले वडा र पालिकाबाट लिनुपर्ने सेवा घरदैलोमा पाउँदा सहज भएको भन्दै खुसी व्यक्त गरिन । स्थानीय खिमबहादुर दर्लामी मगर घरदैलोमा सेवा नहुँदा बजारसम्म जानुपर्ने बाध्यता रहेकामा घुम्ती शिविरबाट सेवा पाएपछि सजिलो भएको बताउँछन् । भन्छन्, ‘सेवा लिन पालिका पुग्नुपर्दाको समय बचत भयो, आर्थिक भार पनि कम भयो ।’

म्याग्दे गाउँपालिकाले जनतालाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यसहित एकीकृत घुम्ती शिविर सुरु गरेको छ । घुम्ती शिविर म्याग्दे-१ बच्र्याङबाट सुरु भएको छ । हालसम्म शिविर वडा नं १ र २ मा सम्पन्न भएको छ ।  

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनतासँग गरिएको प्रतिबद्धता अनुरूप प्रत्येक आर्थिक वर्षमा घुम्ती शिविर आयोजना गर्दै आएको बताए । उनले भने, ‘हामी निर्वाचित भएर आएदेखि घुम्ती शिविरमार्फत जनतालाई सेवा प्रदान गर्दै आएका छौँ । प्रत्येक आर्थिक वर्षमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।’

अध्यक्ष श्रेष्ठले विगत चार वर्षदेखि एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताउँदै कतिपयले घुम्ती शिविरलाई स्वास्थ्य शिविरमात्रै भनेर बुझ्ने गरेकाले सेवाग्राहीको उपस्थिति भने कम रहेको उल्लेख गरे । उनले भने, ‘घरदैलोमा पुगेर एकीकृत रूपमा घुम्ती शिविर आयोजना गर्ने म्याग्दे तनहुँकै पहिलो पालिका हो ।’

एकीकृत घुम्ती शिविर गरेर अनावश्यक खर्च गरेको भन्ने आरोप खण्डन गर्दै अध्यक्ष श्रेष्ठले आरोप लगाउनेहरूलाई एकपटक शिविर अवलोकन गर्न सुझाव दिए । जनताको सहजताका लागि सञ्चालित शिविर प्रभावकारी बन्दै गइरहेको जनाउँदै उनले भने, ’शिविरले जनता र जनप्रतिनिधिको सम्बन्ध सुमधुर बनाउन सहयोग पुर्‍याएको छ ।’

पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रूपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पञ्जीकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरू सहज तरिकाले पुर्‍याउने उद्देश्यसहित घुम्ती शिविर गरिएको अध्यक्ष श्रेष्ठले बताए ।  

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिका नजिकको सिंहदरवार भएकाले जनताले सहज रूपमा सेवा पाउनुपर्छ भन्ने मान्यताबमोजिम आफूहरू अगाडि बढेको बताए ।  

चालु आर्थिक वर्षमा स्वीकृत भएको कार्यक्रमअनुसार अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रमअन्तर्गत वडाले तय गरेको ग्रामीण स्थान वा आवश्यक स्थानमा सञ्चालन गर्नेगरी एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।  

एउटा वडाको चार ठाउँमा गरी सात वडाका २८ ठाउँमा घुम्ती शिविर सञ्चालन गरिने उनले बताए । उनका अनुसार घुम्ती शिविर आगामी असोज १ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित: २० भाद्र २०८२ २१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App