२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

अम्बा खाएको निहुँमा मोरङमा ४ वर्षीया बालिकाको ह’त्या, आरोपित भन्छन्- इँटाले हानेर..

मोरङको सुनवर्षीमा अम्बा खाएको निहुँमा इँटाले हानेर ४ वर्षीया नाबालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ।

सुनवर्षी नगरपालिका–९ डाँइनियाका ५९ वर्षीय जान मोहमद मन्सुरीलाई घटनाको १३ औं दिनमा प्रहरीले नियन्त्रणमा लिएको हो।

सुनवर्षी नगरपालिका-९ डाँइनिया निवासी जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको गत साउन ८ गते साँझ हत्या भएको थियो।

उक्त हत्यामा संलग्न रहेको आरोपमा छिमेकी मन्सुरीलाई बुधबार उनकै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

साउन ८ गते शुक्रबार अपरान्ह ४ बजेदेखि नाबालिका हराएपछि अभिभावक तथा स्थानीयले खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा घरदेखि करिब दुई मिटर टाढा रहेको घन्सीबारीमा सोही राति साढे ७ बजेतिर हत्या गरेर फालिएको अवस्थामा बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

फेला परेको शवको निधार र कन्चटमा गहिरो चोट रहेको थियो भने शरीरमा माथिको कपडा नरहेको र तलको कपडा मात्र लगाएको अवस्था थियो। बालिका घरबाट बेपत्ता हुँदा पनि माथिको कपडा नलगाएको अवस्थामा नै रहेको पारिवारिक स्रोतले जनाएको थियो।

घटनास्थल र शवको प्रकृति हेर्दा जबर्जस्ती करणी भए जस्तो नदेखिएपछि प्रहरीले कुटपिट वा अन्य कुनै कारणले हत्या भएको अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो।

घटनाबारे जानकारी दिँदै डिएसपी मिश्रले भने, ‘शवको प्रकृति र घटनास्थल हेर्दा जबर्जस्ती करणी भएको जस्तो देखिँदैनथ्यो। निधार र कन्चटमा गहिरो चोट लागेका कारण कुटपिटबाट हत्या भएको हुन सक्ने शङ्कामा हामीले विभिन्न पाटोबाट अनुसन्धान अघि बढाएका थियौं। शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरायौं। पोस्टमार्टम रिपोर्ट र अन्य प्राविधिक तथा सुक्ष्म अनुसन्धानलाई अघि बढाउँदै जाँदा प्रहरी मन्सुरीसम्म पुग्न सफल भएको हो।’

नाबालिकाको हत्या हुनुमा कुनै ठुलो वा गम्भीर कारण नदेखिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बताए। ‘घटनाबारे जानकारी पाउनासाथ म स्वयं घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व लिएको थिएँ। घटनास्थलको प्रकृति हेर्दा घटनामा टाढाको व्यक्ति नभई नजिकैको वा चिनजानकै मानिस संलग्न हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक अनुमान थियो। बलात्कारको सम्भावना टरेपछि पारिवारिक रिसिबी वा झगडाका कारण हत्या भएको हो कि भन्ने कोणबाट पनि अनुसन्धान गर्यौं। तर अनुसन्धानका अन्य धेरै पाटो विश्‍लेषण गर्दै जाँदा छिमेकीले नै सामान्य कुरामा बालिकाको हत्या गरी फ्यालेको निष्कर्षमा प्रहरी पुगेको हो,’ एसपी कटवालले भने।

एसपी कटवालका अनुसार पक्राउ परेका मन्सुरीले आफ्नो बारीमा रहेको अम्बा खान आएको भन्दै इँटाले हानेर नाबालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरिसकेका छन्। नाबालिकाको घर र मन्सुरीको घरबिच करिब दुई सय मिटरको मात्र दूरी रहेको छ।

एसपी कटवालले थपे, ‘परिस्थितिजन्य प्रमाणका आधारमा हत्यामा उनकै संलग्नता रहेको पुष्टि भएपछि सोधपुछका क्रममा मन्सुरीले कसुर स्वीकार गरेका छन्। आफ्नो बारीमा रहेको अम्बा खान नाबालिका आएको ठानेर इँटाले हानेर हत्या गरेको उनले बताएका छन्। घटनाबारे थप विवरण अनुसन्धानका बाँकी प्रक्रियाबाट खुल्दै जानेछ।’

नाबालिकाको हत्या आरोपमा पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: २१ श्रावण २०८३ २१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App